Logo
Logo

‘ओलीले मलाई पार्टी सदस्यता दिएको होइन’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जनताको मुक्तिका लागि आफूहरु निरन्तर लागिपर्ने बताएका छन् । केपी ओली पार्टीभित्रको समस्या भएको भन्दै नेता नेपालले आफू समाधान भएको दावी गरे ।

बुधबार युवा संघ नेपाल केन्द्रीय कार्यालय उद्घाटनको समारोहमा नेता नेपालले भने, ‘केपी ओली केही पनि होइनन् । न आन्दोलन, न त संगठन । ओली भनेको गुटको अर्को नाम मात्र हो ।’

उनले केपी ओलीसँग कुनैपनि हालतमा सम्झौता नगर्ने बताए । उनले आफूहरुले २३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसलालाई उचित नमानेपनि मान्न बाध्य भएको बताए । नेता नेपालले भने, ‘उहाँ सुध्रिनु्हन्छ भन्ने लाग्दैन । तर, आशाको सानो त्यान्द्रो बाँकी छ ।’

नेता नेपालले संगठन बनिसकेपछि सडकमा बसिरहने कुरा नआउने बताएँदै देशभरीका कार्यकर्ताले के भन्छन् त्यही आधारमा अघि बढ्ने बताए । ‘कारबाही अर्थहीन छ भनेर हामीले भनिसकेका छौँ’ उनले भने, ‘हामी त्यसलाई महत्व पनि दिँदैनौँ । पार्टीमा उहाँले मलाई सदस्यता दिएको होइन । मलाई केपी ओलीले निकाल्ने कुरा त्यो कसैले सोच्न पनि सक्दैन ।’

कार्यक्रममा युवा संघ नेपाल केन्द्रीय कार्यालय उद्घाटन तथा पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै विद्यार्थी तथा युवाले पढाइसँगै आन्दोलनलाई गति दिनुपर्नेमा उनले जोड दिए ।

‘विद्यार्थीले पढ्नैपर्छ, कम्युनिस्ट आन्दोलन धरासायी पार्न खोज्नेहरूले विद्यार्थीले पढ्ने होर भन्छन्’ उनले भने, ‘तर म भन्छु, पढाइ सँगसँगै आन्दोलनलाई गति प्रदान गरिनुपर्छ । अध्ययन गर्ने काम युवाहरुको हो, विद्यार्थीको हो ।’

प्रतिक्रिया दिनुहोस्