Logo
Logo

बक्रदृष्टि : खगेन्द्र संग्रौला पेट मिचीमिची हाँसे !


दृष्टि संवाददाता


‘नटबोल्ट’ खुस्कियो
प्रधानमन्त्री ओलीले नेकपामा खिया लागेको दुईवटा टायरको ‘नटबोल्ट’ खुस्काएर गाडीलाई त्रिशूलीमा झोसिसके, अझै पनि ईश्वर पोखरेल भन्दैछन्– ‘ओली पाँचै वर्ष प्रधानमन्त्री बन्छन् । कसैले चाहेर हटाउन सक्दैनन् ।’

माओवादीसँग पार्टी एकता हुँदा पो उनीसँग पाँचै वर्ष प्रधानमन्त्री बन्ने ‘म्याण्डेड’ थियो । सर्वोच्च अदालतको फैसलाले माओवादीलाई पेरिसडाँडा पुर्याएपछि ओलीको धोती खुस्किएको चाल पोखरेलले पाएका रहेनछन् कि क्यो हो ? कसो, लोकेन्द्र केसी कमरेड ?

ए महन्थजी ?
प्रज्ञा भवनमा आयोजित डबली कार्यक्रममा बोल्दै प्रचण्डले भने– ए, महन्थ ठाकुरजी बालुवाटार किन धाउँदै हुनुहुन्छ ? म पनि पहिला पहिला तपाईंजस्तै बालुवाटार धाएको धाई गर्थे । तपाईंलाई पनि ओलीले म जस्तै बनाउँलान् है, बडो होस् पुर्याउनुस् ।

प्रचण्डको कुरो सुनेर महन्थले भने– तपाईं उधारो चेक लिएर बालुवाटार धाएकै धाइ गर्नुभयो । ओलीले तपाईंलाई ब्यालेन्स नै नभएको चेक दिएको थाहै पाउनु भएन । हामी त चेक होइन, नगद लिन बालुवाटार गएका हौं । चेकको काम छैन, भन्दा खगेन्द्र संग्रौला पेट मिचीमिची हाँसे ।

कसो पौडेलज्यू ?
नेपालमा लोकतन्त्र धरापमा पर्दा अदालतले जे निर्णय गर्छ, त्यै मान्छु भनेर प्रतिगमनको साथ दिने नेपाली कांग्रेस सभापतिले म्यानमारमा लोकतन्त्र धरापमा पर्दा कडा वक्तव्य निकालेर लोकतन्त्र बहालीको माग गरेको देख्दा शेखर कोइराला लाजले भुतुक्कै भएका छन् ।

लोकतन्त्रप्रति त्यत्रो चिन्ता थियो भने, देउवाले सडकमा आएर प्रतिगमनविरुद्ध किन बोल्न सकेनन् ? आफ्नो देशमा लोकतन्त्र धरापमा पर्दा चुप लाग्ने देउवाले म्यानमारमा सैनिक ‘कू’ विरुद्ध वक्तव्य निकालेर ठूलै बहादुरी देखाएकोमा आङसाङ सुकी पनि दंग परिन् होलान्, कसो, रामचन्द्र पौडेलज्यू ?

मोही माग्ने…
तीस वर्षे पञ्चायती निरंकुशतन्त्रको पक्षमा उभिने पनि गोरखापत्र । राजा ज्ञानेन्द्रको ‘कू’को समर्थन गर्ने पनि गोरखापत्र । पुस ५ गतेको प्रतिगमनको पक्षमा वकालत गर्ने पनि गोरखापत्र । गोरखापत्र संस्थानभित्र जागिर खान गएपछि सबैको मति भ्रष्ट हुन्छ कि क्यो हो ? अस्तिको गोरखापत्रमा ओलीको संसदीय दलको एक पेजको भाषण पढेर सबै चित खाए ।

कतै यो गोरखापत्रलाई ओलीपत्र बनाउन कृष्ण मुरारी भण्डारीले ‘मोही माग्ने, ढुंग्रो लुकाउने’ काम गरेका त होइनन् ? कृष्णमुरारीको ताल देखेर विजय चालिसे पेट मिचीमिची हाँसे ।

(व्यङ्ग्यात्मक पस्तुती ‘बक्रदृष्टि’ दृष्टि साप्ताहिकको स्तम्भ हो ।)

प्रतिक्रिया दिनुहोस्