Logo
Logo

किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट १० खेलाडीको सूचीमा


दृष्टि संवाददाता


काठमाडौं । थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा परेका छन् ।

एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ मा किरण पनि समावेश भएका हुन् । उनीसहित १० खेलाडी छन् । यो स्तरमा पुग्ने उनी पहिलो नेपाली हुन् ।

मनोनयन सार्वजनिक गर्दै एएफसीको वेबसाइटमा लेखिएको छ, ‘नेपाल यस इन्टरनेसनल विन्डो’ (अन्तर्राष्ट्रिय खेलको लागि छुट्याइएको अवधि) मा सन् २०१९ देखि गोल नगरेको अवस्थामा आइपुगेको थियो । तर, आत्मविश्वास वृद्धि गर्दै त्यसलाई अन्त्य गरÞ्यो र बंगलादेशलाई २–१ ले हराएर काठमाडौंमा थ्री नेसन्स कप जित्यो ।

आफ्नो कप्तानीमा पहिलो उपाधि जितेका ३१ वर्षीय किरणले भने, ‘एसियाकै उत्कृष्ट खेलाडीहरूसँगै साताकै १० उत्कृष्ट खेलाडीको सूचीमा पर्नु मेरो जीवनकै उपलब्धि हो ।

थ्री नेसन्स कपको उपाधिसम्म पुग्न टिमका साथी, सहकर्मीहरूको मेहनत र एकसाथ पाएको सफलताले मलाई यो अवसर मिलेको हो । उनीहरूसहित मलाई, फुटबललाई माया गर्नुहुने, साथ दिनुहुने सबैलाई धन्यवाद ।’

दुई वर्षअघि कप्तान बनेका किरणको नेतृत्वमा नेपालले पहिलो उपाधि हात पारेको हो । त्यसको दुई दिनअघि मात्रै उनी भारतको आई लिगकै उत्कृष्ट गोलकिपर घोषित भएका थिए, जहाँ राउन्डग्लास पञ्जाबका १४ खेलमा ७ ‘क्लिनसिट’ राखेका थिए ।

उनले क्लब फुटबलमा नेपालको सहिद स्मारक ए डिभिजन लिग, माल्दिभ्सको धिवेही लिग र भारतको आई लिगको उपाधि जितेका छन् । र, त्रिदेशीय लिग जित्ने उनी पहिलो नेपाली हुन् ।

पाँच वर्षयता विदेशकै लिगमा व्यस्त रहेका उनीसँग बंगलादेशको लिग खेलेको अनुभव पनि छ । हालसम्म नेपालको राष्ट्रिय टिमले जितेको पाँचौँ उपाधि हो यो ।

प्रतिक्रिया दिनुहोस्