Logo
Logo

नेपालमा कोरोना संक्रमण बढ्दै, भयावह हुन सक्ने चिकित्सकको चेतावनी


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा पनि फैलिन थालेको छ । माघ १४ यताकै सवैभन्दा सोमबार देशभर २ सय ६६ जनामा संक्रमण देखियो । कोरोना संक्रमण फेरि उकालो लाग्न थालेको छ । तर, कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारसँग मौज्दात स्वास्थ्य सामग्रीहरू भने सीमित छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर दुई सय ६६ संक्रमित देखिएका छन् । यो संख्या गत १४ माघयताकै सर्वाधिक हो । १४ माघमा चार हजार तीन सय ८२ नमुना परीक्षण गर्दा दुई सय ८३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, १५ माघमा तीन हजार ६ सय ९१ नमुना परीक्षण गर्दा दुई सय १३ जनामा संक्रमण देखिएको थियो । हाल दैनिक १ सयको हाराहारीमा संक्रमित फेला पर्ने गरेका छन् । अढाई महिनाको बीचमा संक्रमणबाट चारजनाको मृत्यु भइसकेको छ ।

काठमाडौं उपत्यकामा पनि अढाई महिनायताकै धेरै संक्रमित देखिएका छन् । गत १४ माघमा उपत्यकामा १ सय ४५ र १५ माघमा एक सय २३ संक्रमित देखिएका थिए । सोमबार देशभर देखिएका दुई सय ६६ संक्रमितमध्ये उपत्यकाका एक सय २७ जना छन् । यही अनुपातमा संक्रमण बढ्दै गए दुई महिनामा भयावह रूप लिने चिकित्सकहरूले बताएका छन् ।

सरकारसँग कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री भने पर्याप्त छैन । केही सामग्री सीमित छन् भने केही सकिएका छन् । भिटिएम (प्याकिङ मेटेरियलसहित), सु कभर, सर्जिकल क्याप, बडी ब्याग, क्लोरिन एनएडिसिसी, बायो ह्याजर्डब्यागलगायतका स्वास्थ्य सामग्री मौज्दात छैनन् ।

कोरोनाको लक्षण देखिएका भारतबाट फर्किनेहरूको अहिले नाकामा एन्टिजेन परीक्षण गर्ने गरिएको छ । तर, सरकारसँग १८ हजार किट मात्रै एन्टिजेन मौज्दात छ । त्यस्तै, आरटिपिसिआर किट ९० हजार मौज्दात छ ।

पिपिई सेट १७ सय, गाउन ५४ हजार दुई सय ३१, पन्जा ३८ हजार सात सय ४८ र एन९५मास्क ८५ हजार एक सय ८० थान मात्रै मौज्दात छ । सेफ्टी चस्मा ३६ हजार आठ सय ११ र फेससिल्ड २३ हजार चार सय मात्र मौज्दात छ । स्वास्थ्य मन्त्रालयले भने पर्याप्त सामग्री रहेको दाबी गरेको छ । आजको नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्