काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का संस्थापक अध्यक्ष तथा शिक्षाविद् डा सुरेशराज शर्माले नेपालमा बेरोजगारी समस्या समाधानका लागि शिक्षाभन्दा सीप बढी महत्वपूर्ण भएको बताएका छन् ।
सिटिइभिटीद्वारा शुक्रबार राजधानीमा आयोजित एकदिने गोष्ठीमा डा शर्माले युवालाई गुणस्तरीय प्राविधिक शिक्षा दिई रोजगार प्रदान गर्नु आजको प्राथमिकता हुनुपर्ने बताए ।
शिक्षालाई हेर्ने दृष्टिकोण पुनर्विचार गरिएन भने यसले विकास र समृद्धिमा टेवा नपुग्ने उनको जिकीर छ । ‘हामी कहाँ योजना बने पनि कार्यान्वयन पक्ष अत्यन्त कमजोर छ । त्यसैले योजना तयारीमै धेरै ध्यान दिनुपर्दछ’, उनले भने ।

‘समृद्धिका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको सुधार’ नामक गोष्ठीमा सिटिइभिटीका सदस्य सचिव डा पुष्पराज वाग्लेले आधारभूत, मध्यम र उच्चसीपयुक्त जनशक्ति उत्पादनमा सिटिइभिटी अहोरात्र खटिरहेको जानकारी दिए ।
‘विज्ञ, नीति निर्माता, उद्योगी र युवाको संलग्नता र सहयोगमा राष्ट्रको विकासका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम (टिभेट)को बलियो उपस्थिति आवश्यक छ’, उनले भने ।
सिटिइभिटीका अन्य क्रियाकलापबारे जानकारी दिँदै उनले बदलिँदो परिस्थितिमा सिटिइभिटीको ऐन परिमार्जन गर्नु उत्तिकै आवश्वयक रहेको धारणा व्यक्त गरे ।
उनका अनुसार देश सङ्घीयतामा गएसँगै क्षेत्राधिकारमा कानूनी अन्योल भएकाले सिटिइभिटीका कार्यक्रम कुन तहका सरकारले सञ्चालन गर्ने भन्नेमा अन्योल छ ।
स्मार्ट प्रविधिको समयमा पनि हाते मेशिनमा भरपर्नुपर्ने, आवश्यक मेशिन, औजारको कमी, वैदेशिक रोजगारको आवश्यकताअनुसार पाठ्यक्रममा सुधार नहुनु सिटिइभिटीका चुनौती रहेको डा वाग्लेको भनाइ छ ।
विगत चार वर्षको अवधिमा प्राविधिक शिक्षालयको संस्थागत पहुँच पुगेको स्थानीय तहको सङ्ख्या १९१ बाट ३८३ पुगेको र प्रशिक्षार्थीको भर्ना क्षमता ४५ हजारबाट ८३ हजारमाथि पुगेको सिटिइभिटीको तथ्याङ्क छ ।
कार्यक्रममा, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले सिटिइभिटी पुनसंरचनाको क्रममा रहेको जनाए । उनकाअनुसार टिभेट शिक्षा क्षेत्रको नीति योजनाको बहसभित्रै हो वा होइन मूल्याङ्कन गर्ने सयय आएको छ । ‘संरचना परिवर्तनले मात्रै समस्या समाधान हुन्छ कि भएका प्रावधानको प्रभावकारी कार्यान्वयनमा जोड दिनु महत्वपूर्ण पक्ष हो’, लम्सालले भने ।
अर्का वक्ता रामहरि लामिछानेले शिक्षा मन्त्रालयमा अनुसन्धान विभाग खै भन्ने प्रश्न पारे । सिटिइभिटीको शिक्षाले राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय मान्यता पाउनु जरुरी छ । उनका अनुसार, अब प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम शिक्षालयमा मर्जर नीति अपनाउनु आवश्यक छ ।












