Logo
Logo

क्रिकेटमा फेरि भ्रष्टाचार : चालकको नाममा अध्यक्षले खाए भत्ता


दृष्टि संवाददाता


काठमाडौं । भ्रष्टाचारकै कारण लामो समय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को जरिवाना हुँदै निलम्वनसम्म व्यहोरेको नेपाल क्रिकेट संघ (क्यान)ले फेरि पुरानै बाटो पछ्याएको छ । क्रिकेटलाई माथि उठाउने भन्दा कमाउने धन्दामा संघका पदाधिकारी लाग्दा क्यानको निलम्बन पूर्ण रुपमा फुकुवा हुन सकेको छैन ।

आइसीसीले आफ्नो आर्थिक निर्देशिका पालना गर्न नसकेको भन्दै क्यानलाई लामो समयदेखि आर्थिक जरिवाना लगाउँदै आएको थियो । अरु कारण पनि थपिएपछि झण्डै पाँच वर्षअघि आइसीसीले क्यानमाथि निलम्बनकै निर्णय गरेको थियो ।

आइसीसीकै निर्देशनअनुसार नयाँ विधानको निर्णाण र त्यसअनुसार भएको नयाँ निर्वाचनमार्फत नयाँ कार्यसमिति आएपछि झण्डै दुई वर्षअघि निलम्बन आंशिक रुपमा खोलेको छ । आइसीसीले क्यानमाथिको निलम्बन आंशिक रुपमा खोलेको पनि आगामी असोजमा दुई वर्ष पुग्दैछ ।

नेतृत्वको कार्यशैली अझै चित्त बुझ्दो नहुँदा आइसीसीले अझै क्यानमाथिको निलम्बन पूर्णरुपमा हटाएको छैन । यसबिचमा अध्यक्ष चतुरबहादुर चन्दको कार्यशैलीका कारण क्यानमाथिको निलम्बन चाढै पूर्णरुपमा फुकुवा हुने सम्भावना टाढिदै गएको देखिएको छ ।

लामो समय आइसीसीको निलम्बनसम्मको कार्वाही झेलेपछि सच्चिने आशा गरिएको क्यान नेतृत्व फेरि पनि पुरानै बाटोमा फर्किएको छ । यो सम्पूर्ण नेपाली क्रिकेटका लागी दुःखको कुरा हो । क्यानमा अध्यक्ष चन्दले प्रशासनिक र आर्थिक दुबै क्षेत्रमा अपारदर्शी काम गर्न थालेका छन् ।

स्वयंसेवी भूमिकामा रहेका अध्यक्ष चन्दले आफ्नै सवारी चालकको नाममा पाँच लाख ४० हजार भत्ता झिकेर खानेदेखि कार्यसमितिमा छलफल नै नगरी आफ्नो व्यक्तिगत निर्णयमा आफ्नो निकटकालाई जागिर दिनेसम्मको निर्णय गरेका छन् ।

क्यानको विधान वा कुनै पनि निर्णयमा अध्यक्षले आर्थिक सुविधा लिने निर्णय छैन । खेलकुद संघको नेतृत्व स्वयंसेवी नै हुने गर्दछ । तर, क्यानबाट गाडी सुविधा लिएका चन्दले सवारी चालकको नाममा ५ लाख ४० हजार भत्ता बुझेका छन् । यति मात्रै होइन, उनले आफू निकटका व्यक्तीलाई आफ्नो एकल निर्णयमा जागिर दिनेसम्मका कामसमेत गरेका छन् ।

क्यानमा अध्यक्ष चन्दले मिडिया हेर्ने गरी भानु (भानुभक्त) सिग्देललाई मासिक २० हजार तलब खाने गरी नियुक्ती दिएका छन् । सार्वजनिक संघ संस्थाहरुमा पदपूर्ती खुल्ला प्रतिस्पर्धामार्फत हुनुपर्नेमा नियम मिचिएको छ ।

त्यसमाथि सिंग्देल यसअघिदेखि नै सचिव अशोकनाथ प्याकुरेल संयोजक रहेको मिडिया समितिको सदस्यको रुपमा छन् । यो जिम्मेवारी स्वयंसेवी हो । यो समितिमा बसेका व्यक्तीहरुले मासिक तलब लिन मिल्दैन ।

तर, अध्यक्ष चन्दले आफ्नो एकल निर्देशनमा सिग्देललाई मासिक तलब दिने व्यवस्था मिलाएका छन् । अध्यक्ष चन्दले सिग्देललाई मासिक तलब दिनू भनी लेखा शाखालाई निर्देशनात्मक पत्र दिएका छन् ।

क्यानमा कार्य सहजताका लागी थोरै पदाधिकारीको कार्य सम्पादन समिति पनि छ । त्यही कार्य सम्पादन समितिलाई समेत जानकारी समेत नदिइ अध्यक्ष चन्दले ठाडो लिखित आदेशमा सिग्देललाई मासिक तलब दिन क्यानको लेखा शाखालाई निर्देशन दिएका छन् । सिग्देल त्यही व्यक्ती हुन्, जसले नेपालमा क्रिकेट समर्थक समाजको गठन गरी अध्यक्ष बनेका थिए ।

सुरुवातमा क्यान र क्यान नेतृत्वको चर्काे आलोचना गर्ने सिग्देल आफै चोरबाटोबाट जागिर खान पुगेका छन् । अरुको गल्तीमा औंला उठाउने उनी अहिले क्यानको सबै गल्ती लुकाउने प्रयासमा देखिन्छन् । उनको जागिर र दोहोरो चरित्र नेपाली क्रिकेटका लागि घातक छ ।

नेपाली क्रिकेटमा उनको जुन पृष्ठभुमि छ, त्यसअनुसार उनले क्यानमा जागिर खानै मिल्दैन । क्रिकेटको फ्यान क्लब र क्रिकेटको प्रशासनिक निकाय क्यानबीचको सम्बन्ध नै सधै पक्ष र प्रतिपक्षको जस्तो हुने गर्दछ । फ्यान क्लबको नेतृत्वले क्यान नेतृत्वलाई सधै सजग गराउने काम गर्नुपर्दछ ।

अझै पनि क्रिकेट समर्थक समाजको मुख्य जिम्मेवारीमा रहेका सिग्देल आफै क्यानमा कर्मचारीको रुपमा नियुक्त भएपछि फ्यान क्लबको भूमिका नै कमजोर हुने देखिएकोछ ।

सम्भावित क्षती
अध्यक्षको नजिक रहेर क्यानभित्र छिरेका व्यक्तिहरुले नै नेपाली क्रिकेटमा ठूलो क्षती पुराउँदै आएका छन् । यसको सिलसिला क्यानको पहिलो निर्वाचित अध्यक्ष टंक आङबुहाङको पालादेखि नै सुरु भएको हो ।

आङबुहाङ क्यानमा निर्वाचित हुँदा उनकै प्यानलबाट केन्द्रीय सदस्य आएका थिए, सञ्जिव पाण्डे । औषधी बेच्ने व्यवसायमा संलग्न पाण्डे अध्यक्ष आङबुहाङको निक्कै नजिक थिए । अंग्रेजी राम्रोसँग नजान्ने अध्यक्ष आङबुहाङले आइसीसीसँग करेस्पोन्ड हुने आफ्नो इमेल उनै पाण्डेलाई चलाउन दिएका थिए । उनै पाण्डेले पनि अंग्रेजीमा राम्रोसँग रिप्लाई दिन नजान्दा आइसीसीले बारम्बार चेतावनी दिएको थियो ।

त्यसपछि पूर्वकप्तान पारस खड्काको नेतृत्वमा खेलाडीहरुले नै आर्थिक अनियमितताको आरोपसहित तत्कालीन अध्यक्ष आङबुहाङ, वर्तमान अध्यक्ष चन्द (त्यसबेला उपाध्यक्ष)सहितका पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएपछि उनीहरुविरुद्ध मुद्धा चलेको थियो ।

त्यसपछि उनीहरु निलम्वित हुँदा दीपक कोइरालाले कार्यबहाक अध्यक्षको जिम्मेवारी पाएका थिए । अंग्रेजीमा कमजोर कोइरालाले पनि आइसीसीसँग करेस्पोन्ड गर्ने आफ्नो इमेल हेर्ने जिम्मेवारी तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीइओ) भावना घिमिरेलाई नै दिए ।

आइसीसीसँग करेस्पोन्ड गर्ने अध्यक्ष र सीइओको छुट्टा छुट्टै इमेल हुन्छ । कर्मचारी र नेतृत्वलाई पठाउनुपर्ने इमेल आइसीसीले छुट्टाछुट्टै इमेलमा पठाउने गर्दछ । आङबुहाङले दुबै मेल सीइओ घिमिरेलाई हेर्न दिदा अरु समस्या निम्तिएको थियो ।

आइसीसीले समेत थाहा पाएपछि क्यानलाई बारम्बार सचेत गराएको थियो । क्यानमा अहिले त्यही क्रम दोहोरिएको छ । अध्यक्ष चन्दको पनि अंग्रेजी कमजोर छ । उनले पनि अहिले सिग्देललाई नै आफ्नो इमेल चलाउन दिएका छन् । अंग्रेजीमा मध्यम देखिएका सिग्देलबाट फेरि पनि पहिलेकै जस्तो समस्या निम्तिन सक्ने संकेत देखिएको छ ।

सिग्देलको क्यान पस्ने योजना सफल
सिग्देलको नेपाली क्रिकेटसँग त्यति लामो सम्बन्ध हैन । उनी आफ्नो काममा व्यस्त थिए । जव नेपाली क्रिकेटले एकपछि अर्काे अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हात पार्दै गयो, घरेलु समर्थकमा त्यसको लोकप्रियता पनि बढ्दै गयो । समर्थक पनि बढ्दै गए ।

नेपाली क्रिकेटको बढ्दो समर्थनलाई बुझेका सिग्देलले केही व्यक्तिलाई लिएर नेपाली क्रिकेट समर्थक समाज गठन गरी अध्यक्ष बने । क्रिकेटको सफलतासँगै आइसीसीबाट आउने बजेट पनि बढ्दै गयो । त्यसलाई बुझेका उनले आफूलाई कुनै पनि अवस्थामा क्यानभित्र प्रवेश गराउने अभियान सुरु गरे ।

त्यसका लागि दुई वर्षअघि नयाँ विधानअनुसार क्यानको नयाँ निर्वाचन सुरु हुँदा नै उनी क्यानमा प्रवेश गर्ने प्रयास गरेका थिए । त्यसबेला उनले बर्दियाबाट सदस्यताका लागि निवेदन दिएका थिए ।

तर, त्यस बेला क्रिकेटको सदस्य बन्नका लागी आवश्यक मापदण्ड नपुगेपछि आइसीसीले गठन गरेको इन्डिपेन्डेन्ट प्यानलले उनलाई सदस्यता दिन अस्वीकार गरिदियो ।

त्यसपछि कुनै समय उनी आफैले तीब्र आलोचना गर्ने क्यानका वर्तमान अध्यक्ष चन्दसँग नजिकको सम्बन्ध बनाएर क्यान प्रवेश गर्न सफल भएका हुन् । चन्दले केही समयअघिबाटै उनलाई क्यानले आयोजना गर्ने प्रतियोगिताहरुमा मिडियाको जिम्मेवारी दिदै आएका थिए ।

उनी क्यानले किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना गरेको प्रधानमन्त्रीकप क्रिकेट प्रतियोगिता र काठमाडौं मेयरकप जस्ता प्रतियोगितामा मैदानमा मिडिया बक्सको जिम्मेवारीमा थिए ।

अहिले किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी महिला ललितपुर मेयर ‘वुमन च्याम्पियनसिप टीट्वेन्टी क्रिकेट प्रतियोगिता’मा पनि सिग्देल त्यही जिम्मेवारीमा छन् । उनी रिपोर्टिङका लागी आउने पत्रकारलाई खानाको प्याकेट बाढ्नेदेखि आवश्यक काममा सहयोग गर्ने गर्छन् ।

क्यानमा जिम्मेवारी पाउन थालेदेखि नै उनको भूमिकामा पनि परिवर्तन देखिएको छ । कुनै समय सामाजिक सञ्जालमा वर्तमान अध्यक्ष र उनको कार्यसमितिको तीव्र आलोचना गर्ने उनी अहिले त्यस्ता आलोचना दबाउने प्रयासमा देखिन्छन् ।

उनकै प्रयासमा आज भोली सामाजिक सञ्जालमा वर्तमान नेतृत्वले ठूला गल्ती गर्दासमेत कुनै विरोध देखिदैनन् । विगतमा समर्थकहरुले निरन्तर विरोधको स्टाटस लेख्ने नेपाली क्रिकेट समर्थक समाजमा आजभोली त्यस्ता कुनै पनि स्टाटस पोस्ट हुदैनन् ।

उनी आफै एडमीन रहेकाले त्यस्ता स्टाटस एप्रुभ गर्न दिदैनन् । यो अर्थमा हेर्दा समर्थक समाजको गठनदेखि अहिलेसम्म उनले क्यान प्रवेशका लागि गरेको अभियान भने पूरा भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्