Logo
Logo

भयावह बने लकडाउन गर्नुपर्छः स्वास्थ्य मन्त्री


दृष्टि संवाददाता


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्थिति भयावह भए लकडाउनमा जानुपर्ने बताएका छन् । भर्चुअल माध्यामबाट गरिएको पत्रकारसम्मेलनमा मन्त्री त्रिपाठीले नेपालमा कोरोना संक्रमणको गम्भीर असर झेल्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए ।

उनले संक्रमण उच्च गतिमा फैलिएकाले सबैजना आ–आफ्नो ठाउँबाट सचेत हुनुपर्ने, यदि सचेत नभए लकडाउनको सामना गर्नुपर्ने बताएका छन् । संक्रमण नियन्त्रण गर्न हरेक व्यक्ति, टोल सुधार समिति, गैरसरकारी संस्था, स्थानीय तहका हरेक निकाय, प्रदेश सरकार र संघीय सरकार सबै गम्भीर हुनुपर्ने बताए।

सबैले जनस्वास्थ्य मापदण्ड अपनाए लकडाउनमा जानुनपर्ने उनको भनाइ थियो। ‘लकडाउन गर्ने कि नगर्ने, हामीमै भर पर्छ। सबैले मापदण्ड पालना गरेमा लकडाउन गर्नु पर्दैन’, उनले भने।

स्वास्थ्यमन्त्री त्रिपाठीले अहिले देखा परेको कोरोनाको नयाँ भेरियन्टले थप जोखिम निम्ताएको बताउँदै सबैलाई गम्भीर हुन सचेत गराए। कुल संक्रमितमध्ये १० प्रतिशत बालबालिका रहेको जानकारी दिँदै मन्त्री त्रिपाठीले सबै अभिभावकलाई सचेत हुन अनुरोध गरे।

गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर १६.९ प्रतिशत रहेको छ। त्यस अवधिमा ७ हजार ५ सय ४८ वटा नमुना परीक्षण भएकोमा १ हजार २ सय ८१ जनामा कोरोना पुष्टि भएको छ। तीमध्ये पाँच सय पाँच जना काठमाडौंका छन्।

यति बेला नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ५४ पुगेको छ। सक्रिय संक्रमितमध्ये १ सय ९० जनाको संस्थागत आइसोलेसनमा, ४० जनाको आइसियुमा र २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा हालसम्म २ लाख ८५ हजार ९ सयजना कोरोनाबाट संक्रमित भइसकेका छन्।

यस्तै गत २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप आठजनामा मृत्युपछि संक्रमण पुष्टि भएको छ। यीसहित नेपालमा मृत्यु हुने संक्रमितको संख्या ३ हजार ९१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्