Logo
Logo

इन्फ्रास्ट्रक्चर बैंकको अर्थमन्त्रीद्वारा उद्घाटन


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २२ फागुन ।
मुलुककै सबै भन्दा धेरै पुँजी भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको उद्घाटन भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकको बुधबार उद्घाटन गरे्का छन् ।


गत २८ माघमा बैंकले नेपाल राष्ट्र बैंबाट कारोबार सञ्चालन गर्ने इजाजत प्राप्त पाएको थियो ।
यो बैंक पुँजीका आधारमा देशकै सबैभन्दा ठूलो बैंक हो । बैंकमा ४० अर्ब रुपैयाँ अधिकृत पुँजी, २० अर्ब जारी पुँजी र १२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको छ । सार्वजनिक तथा निजी साझेदारी मार्फत सञ्चालन हुने बैंकले नेपालको पूर्वाधारका क्षेत्रहरु यातायात, कृषि, ऊर्जा, पर्यटन, विशेष आर्थिक क्षेत्र, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधि लगायतका विकासमा लगानी गर्ने छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०७ बमोजिम नेपाल सरकारसहित केही प्रतिष्ठित वाणिज्य बैंकहरु, बीमा कम्पनीहरु, लघुवित्त, निजी कम्पनीहरु तथा व्यक्तिगत व्यवसायीहरुको संयुक्त लगानी र प्रयासबाट मिति २०७५ जेष्ठ २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइ राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रुपमा यस बैंकले इजाजत पाएको हो ।

नेपाल सरकारको १० प्रतिशत तथा निजी क्षेत्रको ९० प्रतिशत लगानी रहेको यस बैंकको मुख्य कार्यक्षेत्र अन्तर्गत राष्ट्रिय, प्रादेशिक तथा स्थानीयस्तरका पूर्वाधार विकासका परियोजनाहरुमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने तथा परियोजना निर्माणका लागि आन्तरिक र वाहृयस्रोत जुटाउने रहेको छ ।
उद्घाटनका क्रममा बैंकका अध्यक्ष अनुज अग्रवालले नेपालको पूर्वाधार विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए ।

प्रतिक्रिया दिनुहोस्