Logo
Logo

कोरोना संक्रमण फैलँदा पनि सतर्कता नअपनाएको भन्दै सरकारको आलोचना


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले हवाईमार्गबाट नेपाल फर्कने नागरिकलाई क्वारेन्टिन वा होल्डिङ सेन्टमा राखेर पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले हवाईमार्गबाट स्वदेश फर्कने नागरिकहरुको लागि विमानस्थल नजिक क्वारेन्टिन वा होल्डिङ सेन्टर निर्माण गरी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार राख्ने र सो अवधिमा उनीहरुमा कोभिड–१९ को संक्रमण भए नभएको यकिन गर्न पि.सि.आर.परीक्षण गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै बैठकले भारतबाट फर्कनेको कोभिड–१९ को संक्रमण भए नभएको सीमा नाकामा नै परीक्षण गरी रिपोर्ट नआएसम्म होल्ड गरी राख्ने, नेगेटिभ रिपोर्ट आउनेलाई व्यवस्थित रुपमा अभिलेख राखी क्वारेन्टिनमा राख्ने र पोजिटिभ रिपोर्ट आउनेलाई आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

कोरोनालाई देखाइ दैनिक उपभोग्य वस्तु, स्वास्थ्य सामाग्रीको बजारमा कृतिम अभाव सृजना गर्ने, कालोबजारी गर्ने, मूल्यवृद्धि गर्ने, म्याद सकिएका खाद्यवस्तुको रिलेवलिङ गर्ने जस्ता कानुन विपरीतको कार्य हुन नदिन बजार अनुगमनलाई तिव्रता दिई त्यस्ता कानुन विपरीतका काम गर्ने जो कोहीलाई कडा कारवाही गरी सार्वजनिक गर्न पनि समितिले निर्देशन दिएको छ ।

बैठकमा सांसदहरुले भारतमा दैनिक रुपमा लाखौ संक्रमित थपिदा पनि नेपालमा सतकर्ता नअपनाएको भन्दै सरकारको आलोचना गरेका थिए । उनीहरुले स्वास्थ्य जस्तो संवेदनशिल बिषयमा सरकारका मन्त्री सहभागी नभएको भन्दै आगामी बैठकमा सरकारी प्रतिनिधि नआएसम्म बैठक नराख्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्