बाजुरा । सत्यनिरुपण तथा मेलमिलाप आयोग बनेको सात वर्षपछि बाजुराका द्धन्द्ध पीडितले परिचय पत्र पाएका छन् ।
देश शान्ति प्रक्रियामा आएको १६ वर्ष र द्धन्द्धकालिन मुद्दा र घटनाको निरुपण गर्न बनेको आयोगले सात वर्ष पछि बाजुरामा आएर परिचय पत्र वितरण गरेको हो । टोली बाजुरा जिल्लामै पुगेर पहिलोपटक ९ जनालाई पीडित परिचय पत्र वितरण गरेको आयोगका शाखा अधिकृत मुना भट्टाराईले बताएकी छन् ।

बाजुराका परिचय पत्र पाउने सूचीमा २१ जनाको नाम पहिलो चरणमा समावेश गरिएको अधिकृत भट्टराईको भनाइ छ ।
बडिमालिका नगरपालिकामा आयोजित परिचय पत्र वितरण कार्यक्रममा भने ९ जना पीडितको उपस्थिति रहेको थियो । १७ जनालाई दिने भनिएपनि ६ जना सम्पर्कमा नआएको र १ जना काठमाठौंमै बस्ने गरेकोले सबैलाई दिन नसकिएको टोलीले जानकारी गराइएको छ ।
परिचय पत्र दिनसमेत आयोगले ७ वर्ष लगाएको र न्याय दिन कति समय लगाउने भन्दै पीडितहरुले आक्रोश पोखेका छन् । परिचय पत्र दिएरमात्र विना कारण गुमाउनु परेका आफन्त, सहनुपरेको पीडाको क्षतिपूर्ति नहुने र मनले न्यायको महशुस नगर्ने द्धन्द्धपीडित पूर्णबहादुर बुढाले बताएका छन् ।
जिल्लाका सूर्य साउद, अंगे सार्की, छम्मा गिरी, चक्र थापा, उजा विष्ट, बल बुढा, डबल बोगटी, गचे सार्की, गगने अधिकारी, दिलबहादुर बुढा, नयन सार्की, डम्म सार्की, चन्द्रप्रकाश सुनार, राजेन्द्रबहादुर कुँवर, संगम बुढा, पुष्कर दमाइ, पूर्ण दमाई, पूर्णबहादर बुढा, प्रकाश बुढासहित परिचय पत्र पाउने सूचीमा छन् ।
सरकारले नै द्धन्द्ध पीडितका पक्षमा गर्नु पर्ने जति लगानी र सरोकार नराखेकै कारण पीडितले न्याय नपाएको आयोगकै सदस्यले स्वीकार गरेका छन् ।
आयोगबाटै सिफारिस गरिएका निर्णयहरु कार्यान्वयनमा सरकार जिम्मेवार र जवाफदेही नबनेको आरोप आयोग सदस्य प्रचण्डमान खनालले बताएका छन् । आयोग बनेलगत्तै जिल्लास्थित शान्ति समितिका कार्यालय स्थापना गरेर उजुरी लिने काम गरिएको थियो । त्यसमा देशभरीबाट ६३ हजार ७ सय १८ वटा निवेदन परेको थिए । तीमध्ये ३ हजार ७ सय ८७ जनालाई परिचय पत्र दिने गरि प्रक्रिया थालिएको आयोगले बताएको छ ।












