Logo
Logo

कस्तो कलरको ड्रेसमा कस्तो मेकअप ?


डा. रेखा थापा


प्राकृतिक सुन्दरतामा अझ निखार ल्याउन मेकअप अर्थात् शृङ्गार गरिन्छ । मानिसको व्यक्तित्व पोशाक वा शारीरिक बनावटले मात्र सुन्दर र आकर्षक देखिँदैन । पोशाकअनुसार शृङ्गार आवश्यक हुन्छ ।

शारीरिक बनावटअनुसारको पोशाक र शृङ्गारले मानिसलाई सुन्दर र आकर्षक बनाउँछ । तर, आकर्षक र सुन्दर व्यक्तित्वका लागि सही तरिकाले शृङ्गार गर्नुपर्ने हुन्छ ।

मेकअपका लागि महंगो र धेरै सौन्दर्य सामग्री हुनुपर्छ भन्ने हुँदैन । सन्दर्भअनुसार मिल्ने पोशाक र मेकअप राम्रो हुन्छ । म कस्तो समारोहमा सहभागी हुँदैछु भन्ने कुरालाई ध्यानमा राखी सोहीअनुसारको पोशाक र शृङ्गार गर्नुपर्ने हुन्छ ।

नेपाली महिला प्रायः ‘कलरफूल ड्रेस’ लगाउन चाहन्छन् । तर ड्रेसअनुसार मेकअप गर्न सकिएन भने सुहाउँदो देखिँदैन । एउटा समय थियो, शिरदेखि पाउसम्म एकै रंगको पोशाक लगाइन्थ्यो । पोशाकको रंगसँग मिल्ने आइस्याडो, लिपस्टिक र नेलपोलिस लगाउँने गरिन्थ्यो । तर अहिले समय फरक भयो । कन्ट्रास्टको जमाना छ ।

कन्ट्रास्ट कलर प्रयोग गर्दा आकर्षण देखिन्छ र नेचुरल पनि । जस्तै, बोल्ड कलरको ड्रेस लगाउँदा सफ्ट पिंक, पिच वा न्यूड कलरको लिप कलर लगाएमा नेचुरल देखिन्छ । लाइट कलरको ड्रेससँग डार्क वर्गण्डी वा मरुन कलर प्रयोग गर्न सकिन्छ । दिनमा गरिने मेकअप लाइट हुनुपर्छ भने, नाइटमा अलि डार्क सेड र भाइब्रेन्ट कलर हुनुपर्छ ।

कस्तो कलरको ड्रेसमा कस्तो मेकअप ?

रेड ड्रेस : नेपालमा सबैभन्दा बढी प्रयोग हुने र रुचाइने कलर रेड अर्थात् रातो हो । रेड ड्रेसमा स्मोक आइमेकअपले राम्रो देखिन्छ । स्मोकी ड्रेस लगाउन सकिन्छ र आइबलमा गोल्ड वा कपर कलरको बिगमेन्टले आकर्षण बढ्छ ।

पिंक ड्रेस : पिंक कलरको ड्रेसमा पिंक कलरको लिपस्टिक प्रयोग गर्दा राम्रो देखिन्छ ।
पहेँलो ड्रेस : पहेँलो कलरको ड्रेस पछिल्लो समय धेरैले रुचाएको पाइन्छ । यसका लागि ब्रञ्ज मेकअप निकै सुहाउँछ । ब्राउन र गोल्ड आइस्याडोमा रेड कलरको लिपिस्टिक राम्रो खुल्छ ।

ह्वाइट ड्रेस : सेतो रंगको पहिरनका लागि ब्राइट कलर छान्नुपर्छ । नत्र सफ्ट कलरले फिका देखिन सक्छ । ओरेन्ज वा पिंक लिपकलरले खुलाउँछ ।

ब्ल्याक ड्रेस : कालो रंगको ड्रेस पनि धेरै चल्छ । यसमा स्मोकी आइमेकअप सुहाउँछ । ग्रे कलरमा सिल्भर पिग्मेन्ट वा सिमर राम्रो हुन्छ । तर, लिप कलर चाहिँ न्यूड नै लगाउँदा राम्रो हुन्छ । ड्रामाटिक लुकको लागि डार्क वा वर्गन्डी लिपकलर प्रयोग गर्न सकिन्छ ।

ग्रीन ड्रेस : नेचुरल ब्राउन सेड वा डार्क ब्राउन आइस्याडोमा पिंक वा पिजको लिप कलरले आकर्षक कन्ट्रास्ट दिन सकिन्छ ।

एनिमल प्रिन्ट ड्रेस : धेरै महिलाको रोजाइमा परेको एनिमल प्रिन्ट कलरमा सफ्ट स्मोकी आइमेकअप र न्यूड कलरकै लिपकलर राम्रो हुन्छ । यसमा भने एउटा एसेसरी म्याच गरेर लगाउँदा राम्रो हुन्छ । जस्तै पर्स वा बेल्ट आदि ।

मेटालिक ड्रेस : मेटालिक ड्रेसमा स्मोकी आइमेकअप र आइलिडमा पिगमेन्ट वा सिमर लगाउने वा ग्लिटर लाइनर लगाउने । र, लिपमा न्यूड कलर प्रयोग गर्न सकिन्छ । जसले नेचुरल लुक दिन्छ ।

हाम्रो समाज सौन्दर्य र शृृङ्गारबारे विस्तारै अभ्यस्त हुँदैछ । केही समय अगाडिसम्म शृङ्गारबारे गलत अवधारणा थियो । यसमा सामाजिक मनोवृत्तिको भूमिका छ । सुन्दरताप्रति पूर्वीय दर्शनको मानकले पनि शृृङ्गारबारे फरक व्याख्या गरेको पाइन्छ । त्यसैले शृङ्गारबारे हाम्रो समाजमा परम्परागत धारणा छ । तर, समय सधै एकनासको हुँदैन ।

आजको युग कोही कसैबाट नियन्त्रित छैन । मानिस स्वतन्त्रतापूर्वक बाच्न चाहन्छ । त्यसैले पछिल्लो समय सुन्दरताका लागि शृङ्गार अति आवश्यक भन्ने मान्यताले ठाउँ पाउन थालेको छ । आजकाल सबै मेकअपसँग अभ्यस्त हुन थालेका छन् । त्यसैले मेकअप गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

(लेखक कस्मेटोलोजिष्ट, एस्थेटिसियन, एरोमा थेरापिस्ट हुन् )

प्रतिक्रिया दिनुहोस्