Logo
Logo

कोभिडविरुद्ध खोप लगाउनेको संख्या एक अर्ब नाघ्यो


दृष्टि संवाददाता


काठमाडौँ । विश्‍वभर कोभिड-१९ खोप लगाउनेको संख्या शनिबार एक अर्ब नाघेको छ । कोभिड-१९ संक्रमणमा पर्नेको संख्या बढिरहँदा खोप लगाउने पनि बढेका हुन् । फ्रेन्च समाचार एजेन्सी एएफपीका अनुसार २०७ मुलुकमा एक अर्ब २९ लाखले कोभिड-१९ खोप लगाएका हुन् ।

तर खोप लगाउने ठूलो जनसंख्या भने विकसित मुलुकहरूको रहेको छ । कोभ्याक्स कार्यक्रम अन्तर्गत विकासिल र अविकसित मुलुकहरूमा पनि खोप पुगे पनि त्यहाँको ठूलो जनसंख्या खोपको पहुँच भन्दा बाहिर छ ।

यसैबीच शुक्रबार मात्रै विश्वभरमा आठ लाख ९३ हजार मानिस कोभिड-१९ संक्रमणमा परेका छन् । जुन आफैँमा नयाँ रेकर्ड हो । भारतमा मात्रै शनिबार तीन लाख ४६ हजार ७ सय ८६ जना नयाँ संक्रमित फेला परेका छन् ।

भारतमा मात्रै होइन, थाइल्यान्डमा पनि कोभिड-१९ को संक्रमणमा पर्ने र अस्पताल पुग्‍नेको संख्या हवात्तै बढेको छ । थाई प्रधानमन्त्री प्रायुट चान ओचाका का अनुसार उनको मुलुकमा १४ सय भन्दा धेरै संक्रमित अस्पतालमा भर्ना हुन पालो पर्खिरहेका छन् । भारत जस्तै अत्यन्तै प्रभावित ब्राजिलमा अप्रिल महिनामा मात्रै करिब ६८ हजारले ज्यान गुमाइसकेका छन् ।

भारतमा कोभिड-१९ संक्रमणमा पर्नेको संख्याले दिनहु नयाँ बिन्दु छुँदा त्यहाँ अक्सिजनको अभाव देखिएको छ । शनिबार मात्रै २६ सय २४ भारतीयले ज्यान गुमाउँदा नरेन्द्र मोदी सरकार निरन्तर दबाबमा छ । कोभिड-१९ बाट अत्याधिक पिडित सहरहरुमा अक्सिजनको पर्याप्त आपूर्ती गर्न नसकिरहेको भन्दै मोदी सरकारको व्यापक आलोचना भइरहेको छ ।

भारतका विभिन्‍न सहर तथा क्षेत्रमा अक्सिजन पुर्‍याउन रेलको प्रयोग भइरहेको छ । अक्सिजन एक्सप्रेस नाम राखिएको रेलले शनिबार उत्तरी लखनउमा करिब ३० हजार लिटर अक्सिजन पुर्‍याएको छ । रेल बाहेक भारतीय वायु सेनाका जहाज पनि अक्सिजन आपूर्ती गर्न प्रयोग गरिएको छ । सिंगापुरबाट ल्याइएका अक्सिजन टंयाङ्करलाई सेनाको जहाज प्रयोग गरी विभिन्‍न स्थानतर्फ लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्