Logo
Logo

अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्रीमा कर छुट


दृष्टि संवाददाता


काठमाडौं । सरकारले अक्सिजन सिलिण्डर लगायतका मालवस्तुमा कर छुट दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले जीवनदायक अक्सिजन सिलिण्डर लगायतका मालवस्तुमा कर छुट दिने निर्णय गरेको हो ।

बुधबार मन्त्रिपरिषदको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री पार्वत गुरुङले अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले कोरोना संक्रमण बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै कर छुट दिने निर्णय गरेको जानकारी दिएका हुन् ।

दोस्रो लहरको कोरोना संक्रमणको चपेटमा रहेको भारतमा अक्सिजन सपोर्ट नपाउँदा संक्रमितको ज्यान गइरहेको अवस्थामा नेपालमा समेत मेडिकल अक्सिजनको उपलब्धताको विषयलाई लिएर चिन्ता व्यक्त गर्न थालिएको छ ।

कोरोना संक्रमितको जीवनरक्षाका लागि अक्सिजनक आवश्यक पर्नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गरिदिन पनि आग्रह गरेको छ ।

उपत्यकामा रहेका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन नहुँदै दैनिक ८ हजार सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिन्छ । काठमाडौं बाहिर बिराटनगर, रुपन्देही, दाङ लगायतका शहरमा थुप्रै अक्सिजन उद्योग रहेकाले उनीहरुलाई समेत सक्रिय बनाएमा अक्सिजनको अभाव नहुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्