Logo
Logo

तनहुँका दशवटै पालिकामा एम्बुलेन्स तयारी अवस्थामा


दृष्टि संवाददाता


तनहुँ । तनहुँका दशवटै स्थानीयपालिकाले कोभिड–१९ को जोखिमलाई ध्यान दिँदै एम्बुलेन्स तयारी अवस्थामा राखेका छन् । कोरोनाको दोस्रो लहरको सङ्क्रमण पुनः फैलिन थालेपछि उच्च सतर्कता अपनाउँदै यहाँका चार नगरपालिका र छ गाउँपालिकाले करोना नियन्त्रणमा उच्च प्राथमिता दिएका हुन् ।

हाल तनहुँ उद्योग वाणिज्य संघ,दमौली बजार इकाईले प्रदान गरेको एम्बुलेन्सबाट व्यास नगरपालिकाले सेवा प्रवाह गर्दै आएको छ ।अधिकांश पालिकाकाले आफैले एम्बुलेन्स खरिद गरेका छन् भने कुनैले एम्बुलेन्स सञ्चालकसँग सम्झौता गरी तयारी अवस्थामा राखेका हुन् ।

व्यासले नयाँ एम्बुलेन्स खरीदका लागि अग्रीम रकम भुक्तानी गरेको चार महिना बित्न लाग्दा पनि एम्बुलेन्स ल्याउन सकेको छैन । खरीदको लागि गत माघ महिनामा रु १० लाख पचास हजार बिनियोजन गरेको थियो ।

बतास कम्पनीसँग सम्झौता गरेर पैसा पठाएपनि कोभिडको समयमा सञ्चालनमा ल्याउन समस्या हुने देखिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । नगरपालिकाले एम्बुलेन्स पठाइदिनका चार/पाँच पटक दैनिक फोन सम्पर्क गरिरहेको र कम्पनीले पठाइदिन्छु भन्दै ढिलासुस्ती गरेको उनले बताए ।

नयाँ एम्बुलेन्स आएपछि पुरानो एम्बुलेन्सलाई शव बहानको रुपमा प्रयोग गर्ने योजना रहेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।जिल्लाको आँबुखैरेनी गाउँपालिकाले कोभिड–१९ लाई मध्यनजर गर्दै दुई एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।

एम्बुलेन्स संञ्चालकसंग सम्झौता गरी गाउँपालिकाले तयारी अवस्थामा राखेको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए । त्यसैगरी शुक्लागण्डकी नगरपालिका,म्याग्दे गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर संञ्चालनमा ल्याइसकेका छन् ।

बन्दिपुर गाउँपालिकासँग एउटा पुरानो एम्बुलेन्सबाट सेवा प्रवाह गर्दै आएपनि नयाँ एम्बुलेन्सको लागि प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताए ।

घिरिऋषिङगाउँपालिकाको आफ्नै एम्बुलेन्स रहेको छैन् तर सोही पालिकामा नेपाल रेडक्रस सोसाइटीद्वारा संञ्चालित एम्बुलेन्सबाट सेवा प्रवाह गर्दै आएको जनाएका छन् । भीमाद नगरपालिकाले तीन एम्बुलेन्स तयारी अवस्थामा राखेको जनाएको छ ।

भीमाद बजार इकाई,भीमाद युवा क्लव र भिमादनगरपालिका–१ मा गरी नगरपालिका क्षेत्रमा तीन एम्बुलेन्स रहेको नगरप्रमुख मेखबहादुर थापाले जानकारी दिए ।

प्राथामिक स्वास्थ्य उपचारलाई मध्यनजर गर्दै नगरपालिकाले खरीद गर्न लागेको दुई एम्बुलेन्सको प्रक्रिया अन्तिम चरणमा पुगेकोले नगरपालिका क्षेत्रमा पाँच एम्बुलेन्स रहने उनले जानकारी दिए ।

यसैगरी भानु नगरपालिका र देवघाट गाउँपालिकाले पनि एम्बुलेन्स तयारी अवस्थामा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्