Logo
Logo
टाइमलाइनमा सरकार गठन :

ओलीलाई सत्ताच्युत गर्ने कसरतदेखि ओली नै प्रधानमन्त्री नियुक्तसम्म


दृष्टि संवाददाता


मंगलबार संसदबाट विश्वासको मत नपाएसँगै प्रधानमन्त्रीबाट केपी शर्मा ओली पदमुक्त भए । राष्ट्रपतिले तीन दिनको समय दिएर दलहरूलाई बहुमतको सरकार गठन गर्न आह्वान गरे । तर, तीन दिनमा बहुमतको सरकार गठन गर्न कांग्रेस, माओवादी असफल भए । बिहीबार बिहानै देखि राजनीतिक दलहरू सरकार गठनकै रस्साकस्सीमा लागे । हेरौँ बिहीबार बिहानदेखि बेलुका राष्ट्रपतिले पुनः ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्दासम्म के के भए ?

टाइमलाइनमा बिहीबार दिनभर :

बिहान ९ बजे : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्रका रूपमा चिनिएका विष्णु पौडेल वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वार पुगे । नेपालले बुधबार राति ओलीले गरेको फोन रिसिभ नगरेपछि पौडेल बिहानै ओलीको सन्देश लिएर नेपाल निवास पुगे ।

बिहान ९ बजे : नेकपा एमाले अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक बोलाए । पार्टीभित्रका असन्तुष्ट समूहको माग सम्बोधन गर्ने बैठकको एजेन्डा । बैठकले नेपाल समूहका आंशिक माग सम्बोधन गर्ने तयारी समेत गरेको स्थायी कमिटी सदस्यले दावी गरे ।

बिहान ९: ३० बजे : नेकपा एमालेका माधव पक्षीय सांसदको राजीनामा रोक्न नेपाल निकट वकिलहरु समेत सक्रिय भए । कांग्रेस सभापति शेरबहादुर देउवालाई आफूले आश्वासन दिइसकेको भन्दै नेपालले राजीनामाबाट पछि हट्न आनाकानी गरेपछि वरिष्ठ अधिवक्ता शम्भु थापासहित तीन जना संविधानविद् सक्रिय हुँदै नेपाललाई भेटे । राजीनामा भन्दा मध्यमार्गी बाटोबाट एमालेभित्रै समाधान खोज्न सुझाव दिए ।

मध्याह्न १२ बजे : नेकपा एमालेको स्थायी कमिटी बैठकले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गर्यो । नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा भयो । राष्ट्रिय राजनीतिक अवस्थालाई समेत विश्लेषण गरेर पार्टी र सरकार सम्बन्धी अरु सबै निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष ओलीलाई दिइयो ।

दिउँसो १२:३० बजे : एमाले स्थायी कमिटीले निलम्बन फुकुवा गरेसँगै अध्यक्ष केपी शर्मा ओलीलाई दियो चार बजेसम्मको डेडलाइन, २ जेठ २०७५ मा फर्किन तयार नभएसम्म आफूहरूको राजीनामा नरोकिने नेपाल समूहका नेता भीम रावलले बताए ।

मध्याह्न १२:३० बजे : वैकल्पिक सरकारको नेतृत्व दावी गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष महन्थ ठाकुरसँग वार्तामा बसे । बूढानीलकण्ठमा जारी वार्तामा आफ्नो नेतृत्वमा सरकार बनाउन देउवाले ठाकुरलाई आग्रह गरे ।

मध्याह्न १२: ४५ बजे : कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाए चार बजेका लागि पदाधिकारी बैठक । महन्थ ठाकुरसँग भएको कुराबारे बैठकलाई अवगत गराउने । बैठकपछि नयाँ सरकारको दावी प्रस्तुत गर्ने ।

दिउँसो २ बजे : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केपी ओलीको विकल्पमा अर्को सरकार बनाउने कांग्रेस सभापति शेरवहादुर देउवाको प्रस्ताव अश्वीकार गरे । ठाकुरले पार्टी र संसदीय दलको मुख्य नेता आफू भएको र यसको जानकारी राष्ट्रपतिलाई समेत गराइसकेको भन्दै जसपा फुटाउने प्रयास नगर्न आग्रह गरे । समर्थन जनाउन नसक्ने बताएपछि देउवाले पदाधिकारी बैठक बोलाए ।

दिउँसो २ बजे : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बूढानीलण्ठस्थित व्यवसायी रामेश्वर थापाको घरमा भेटवार्ता भयो । चार नेतामाथिको कारवाही फिर्तापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसँग भेटेर पार्टी एकताको लागि थप पहल थाले । माधव पक्षसहितको स्थायी कमिटी बैठक पनि बोलाउने तयारी गरियो ।

दिउँसो २ बजे : कांग्रेस सभापति देउवालाई भेटेर जसपा अध्यक्ष ठाकुरले बोलाए छुट्टै्र भेला । आफू निकट सांसदको सहभागी रहेको भेलामा देउवाले गरेको प्रस्तावबारे ब्रिफिङ गरे । कुनै पनि हालतमा सरकार बनाउन सहयोग नगर्ने बारेमा अडिग रहन सांसदलाई सुझाव दिए ।

दिउँसो २: ३० बजे : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति देउवा भेट्न बुढानिलकण्ठ पुगे । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा सकिनै लाग्दा दलका शीर्ष नेताहरुले भेटघाट गर्दै सरकार बनाउने विषयमा छलफल गरे । महन्थ ठाकुरले सहयोग गर्न नसक्ने कुराको देउवाले प्रचण्डलाई ब्रिफिङ गरे ।

दिउँसो २: ४५ बजे : जसपा अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्ट पु¥याए । ठाकुरका १७ सांसद मध्ये रिसोर्टमा १३ सांसद सहभागी भए । सांसदलाई रिसोर्टमा व्यवस्थापन गर्न वरिष्ठ नेता राजेन्द्र महतो पनि साथमै गए ।

अपराह्न २: ५० बजे : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको २० मिनेट भेट भयो । राष्ट्रपतिले तोकेको समयमा नै देउवा र प्रचण्डबीच समयमै बहुमतको सरकारको दावी लिएर शीतलनिवास जाने सहमति भयो ।

अपराह्न ४ बजे : नयाँ सरकारको दावी पेश गर्ने तयारी अघि बढाउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक सुरु । बैठकमा सरकार निर्माणका लागि भइरहेका प्रयासबारे छलफल ।

अपराह्न ४ः ३० बजे : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठक बोलाए ।

अपराह्न ५: ०० बजे : बहुमतको सरकार बनाउने विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पेरिसडाँडामा सुरु । गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेस र सभापति शेरबहादुर देउवासँग भएको कुराकानी बारे कमिटीमा ब्रिफिङ गर्ने प्रचण्डको तयारी ।

साँझ ६: ०० बजे: चार घण्टा लामो नेकपा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको वार्ता सकियो । कार्यदल गठन गरेर अघि बढ्ने सहमति, दुई चार दिनका लागि राजीनामा टरेको नेपालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिए ।

साँझ ६ :२५ बजे : माओवादी केन्द्रको स्थायी समितिको बैठक सकियो । नेकपा माओवादी केन्द्रले एमालेको माधव नेपाल समूहले राजीनामा नदिने भएसँगै वैकल्पिक सरकार गठनको सम्भावना सकिएको निष्कर्ष निकाल्यो ।

साँझ ६: ४९ बजे : कांग्रेस पदाधिकारीको बैठक सकियो । वैकल्पिक सरकारको नेतृत्व गर्ने प्रयासमा रहेको प्रमुख विपक्षी नेपाली कांग्रेस प्रतिनिधिसभाको बहुमत जुटाउन नसकेपछि नयाँ सरकार गठनको राष्ट्रपतिसँग दावी नगर्ने बैठकले निर्णय गर्यो । फेरि पनि प्रधानमन्त्री केपी शर्मा ओली नै हुने निश्चित भएको बैठकको निष्कर्ष ।

राति ८:०० बजे : बहुमत सरकार बनाउन नसक्ने निष्कर्ष निकालेसँगै जसपा अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो बालुवाटारमा, पुनः प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिए ।

राति ८:३० बजे : नेकपा एमालेले दुई वा दुई भन्दा बढी दलको बहुमत लिएर सरकारको दावी नगर्ने जनायो । राष्ट्रपतिले दिएको समयभित्र कांग्रेस–माओवादीले दावी नगरेपछि एमालेले पनि दावी नगर्ने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

राति ९:०० बजे : बहुमतको सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमा सकियो ।

राति ९:२१ बजे: बहुमतको सरकार गठनका लागि कुनै पनि दलबाट दावी पेश नभएको राष्ट्रपति कार्यालयबाट जानकारी ।

राति १०:१९ बजे: राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधिसभामा सवैभन्दा बढी सदस्यहरू भएको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त ।

प्रतिक्रिया दिनुहोस्