
काठमाडाैं । आइतबार मात्रै ऐतिहासिक उचाइ लिएको नेप्सेले सोमबार थप उचाइ लिएर रेकर्ड कायम गरेको छ। २० अंकले बढेको बजारमा नेप्से सूचकलेऐतिहासिक उचाईको रेकर्ड बनाउँदै २ हजार ७ सय ५९ बिन्दुमा पुगेको हाे ।
सोमबार नेप्से सूचक २०.७१ अंकले बढेर २हजार ७ सय ५९ दशमलव २२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ४.४५ अंकले बढेको छ।यस दिन कारोबार रकममा पनि उत्साह कायमै रहेको देखिएको छ।
आइतबार १० अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएकोमा सोमबार पनि ९ अर्ब ५७ करोड रुपैयाँको शेयर कारोबार भएको छ। यस दिन २१८ वटा कम्पनीको १ करोड ९० लाख ५६ हजार २३६ कित्ता शेयर ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ रुपैयाँमा खरिदबिक्री भएको छ।
सोमबार हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ। कारोबारमा आएका अधिकांश कम्पनीको शेयरमूल्य बढ्दा उक्त उपसमूहको सूचक सबैभन्दा धेरै २ दशमलव ५२ प्रतिशतले बढेको छ।
रुरु जलविद्युत, समता घरेलु लघुवित्त, राधी जलविद्युत, कर्पोरेट डेभलपमेन्ट बैंक, वरुण हाइड्रोपावर, नेपाल फाइनान्स, खानीखोला हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स र गुराँस लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।














