काठमाडौं । बागमती सफाइ महाअभियानले आठ वर्ष पूरा गरी नवौँ वर्ष प्रवेश गरेको अवसरमा तीन सातादेखि जारी निषेधाज्ञाका कारण अप्ठ्यारोमा परेका बिरामीका लागि रक्तदान कार्यक्रम गरिरहेको छ ।
कार्यक्रममा ३३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक चक्रबहादुर चन्दले राससलाई जानकारी दिए । शङ्खमूलमा रक्तदान गर्नुअघि ४१९औँ हप्ताको वाग्मती सफाइ पनि गरिएको थियो ।
सफाइमा १० अभियानकर्मीको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिए ।
महाअभियान नवौँ वर्ष प्रवेश गरेका अवसरमा आज बेलुकी जुम प्रविधिबाट कोरोनाबाट बच्न के गर्ने ? के नगर्ने ? भन्ने विषयमा चिकित्सकसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
यसैगरी मनोहरा सफाइ तथा सम्पदा बचाउ नागरिक अभियानको आयोजनामा काठमाडौँ महानगरपालिका–३२ नरे फाँटस्थित लाली गुराँस स्कुल छेउको नदी किनारमा २१८औँ हप्ताको सफाइ अभियान सम्पन्न गरिएको छ ।
सफाइ भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको हो । सफाइबाट दुई गाडी फोहोर उठाइएको कार्यक्रम संयोजक चन्द्र दङ्गालले जानकारी दिए ।
भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, ललितपुरको गोदावरीखोलालगायत स्थानमा पनि सफाइ गरिएको जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान आजदेखि नवौँ वर्ष प्रवेश गरको छ ।











