झापा । मोटरसाइकल दुर्घटनामा मृत्यु भएका अनन्तकुमार आचार्यको आश्रित परिवारलाई ग्लोबल आइएमई बैंकले डेढ करोडभन्दा बढी दिनुपर्ने भएको छ ।
सामाजिक सुरक्षा कोषले मेचीनगरका आचार्यको आश्रित परिवारलाई १ करोड ५१ लाख १९ हजार ५ सय ८६ रुपैयाँ ३ महिनाभित्र उपलब्ध गराउन बैंकलाई निर्देशन दिएको हो । आचार्यको गत फागुन ७ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । उनी बैङ्कको फिक्कल शाखाका प्रमुख थिए ।
बैंक सामाजिक कोषमा आवद्ध नरहेको कारण सो बैंकले आफ्ना कर्मचारीको मृत्युपछि पेन्सन सुविधा अन्तर्गत पाउनु पर्ने हिसाब जोडेर उक्त रकम तिर्नुपर्ने कोषका सह–प्रवक्ता रोहित रेग्मीले जानकारी दिए ।
पारिश्रमिकको ६० प्रतिशतका दरले हुने आश्रित परिवार सुविधा योजना अन्तरगतको पेन्सन रकम दावी गर्दै आचार्यको परिवारले सामाजिक सुरक्षा कोषमा निवेदन दिएका थिए । बैंकमा कार्यरत रहँदा आचार्यले मासिक पारिश्रमिक ३७ हजार रुपैयाँ पाउँदै आएका थिए ।
रेग्मीका अनुसार मृतकको श्रीमती भावना पाठकलाई बैंकले १ करोड १८ लाख ६५ हजार १ सय ६० रुपैयाँ उपलब्ध गराउनु पर्नेछ । भावनाको को जन्म मिति २०५१ साल साउन २२ गते रहेका छ । त्यसलाई आधार मानेर नेपालको औसत आयु ७१ वर्षका आधारमा उक्त रकर बैंलले भावनालाई उपलब्ध गराउनुपर्ने रेग्मीले जानकारी दिए ।
यस्तै आश्रित छोरा श्रीयान्स आचार्यलाई बैंकले शैक्षिक बृत्ति रकम ३२ लाख २९ हजार ४ सय २६ र अन्तिम संस्कार खर्चवापत २५ हजार गरी जम्मा १ करोड ५१ लख १९ हजार ५ सय ८६ रूपैयाँ उपलब्ध गराउनु पर्नेछ ।












