धनगढी । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका बेला कैलालीमा काठ तस्करी बढेको छ । कैलालीका विभिन्न वनमा ‘वैज्ञानिक वन’का नाममा काटिएका साल र सल्लाका रुखका काठहरू निषेधाज्ञाको मैका छोपेर तस्करी हुन थालेको हो ।
तस्करुहरू बिहान तीन बजे नै जंगलमा प्रवेश गरेर काठ तस्करी गर्ने गरेकाे स्थानीय बताउनछन् । उनीहरूले राजनीतिक आडमा नै काठ तस्करी गर्ने गरेको बताइएको छ ।
सबैभन्दा बढी कैलालीको बसन्ता जैविक मार्ग, मध्यवर्ति क्षेत्रको मसुरिया, पहलमानपुरदेखि उत्तरका वनहरुबाट रातको समयमा काठ तस्करी भइरहेको स्थानीय बताउनछन् । कैलालीका चौमालादेखि उत्तर पूर्व चुहासम्मको जंगलमा राति व्यापक रुपले काठ तस्करी भइरहेकाे स्थानीयको भनाइ छ ।
चुरे गाउँपालिकाको घरखेडास्थित एक स्थानीयले आफ्नो नाम उल्लेख नगरिदिने शर्तमा भने, ‘रातिराति व्यापक काठ तस्करी भइरहको छ, त्यसको विरोध गर्नेलाई समेत काठ तस्करहरुले ज्यान मार्ने समेता धम्की दिने गरेका छन्, त्यसैले बोल्न सबै डराएका छन् ।’
साविक गोदावरी, मालाखेती र चुहा, चैमाला, मसुरिया, पहलमानपुर लगायतका वन क्षेत्रमा दिनहुँ रातिराति काठ तस्कर भइरहँदा पनि वन प्रशासन मैन बसेको स्थानीयको आरोप छ । डिभिजन वन कार्यालयले वेवास्ताले झनै तस्करीहरु मैलाउँदै गएको स्थानीयको भनाइ छ ।
तस्करीहरुसँग वन डिभिजन पहलमानपुरको पनि संलग्नता रहेको हुन सक्ने स्थानीयको आशंका छ । यस सम्बन्धमा पहलमानपुर वन डिभिजन कार्यालयमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
बन माफियाको ठूलो सञ्जालले लामो समयदेखि काठ तस्करी गर्ने, घर निर्माणदेखि फर्निचर उद्योगहरूमा रातिराति काठकाे आपूर्ति गर्ने गरेकाे एक प्रत्यक्षदर्शीले बताए । नाम गोप्य राखिदिने शर्तमा उनले भने- ‘विरोध गर्यो भने ज्यानै जाने खतरा हुन्छ, नभनौं वन क्षेत्र नै समाप्त हुने अवस्थामा पुगिसक्यो ।’ सरकारले कैलाली जिल्लामा भइरहेको अवैध तस्करीलाई तत्काल नियनत्रण गर्नुपर्ने उनले बताए ।
कैलाली जिल्लामा भइरहेको अवैध तस्करी र वन विनासलाई स्थानीय स्तरमै छानविन समिति गठन गरेर केन्द्रिय सरकारले अनुगमन कार्यलाई तिब्रता दिन जरुरी रहेको स्थानीयको माग रहेको छ । यसरी दिनानुदिन वन क्षेत्र विनास हुँदै जाने हो भने ठूला-ठूला प्राकृतिक प्रकोप निम्तिने जानकारहरु बताउछन् ।












