Logo
Logo

कोभिसिल्ड लगाएकालाई एस्ट्राजेनेका कै अर्को खोप


दृष्टि संवाददाता


काठमाडाैं । सरकारले कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्रा एस्ट्राजेनेकाकै खोप दिने निर्णय गरेको छ । फागुन २३ देखि चैत्र १० गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई यो खोप दिन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोख्रेलले एक सूचनामार्फत कोभिसिल्डको पहिलो डोज लगाएका व्यक्तिलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेका लगाइने व्यवस्था मिलाइने जनाएका छन्। 

सिरम इन्स्टिच्युट अफ इन्डिया र कोभ्याक्स फ्यासिलिटी प्रतिबद्धताअनुसार खोप उपलब्ध गराउन असमर्थ भएको पत्र प्राप्त भएको जनाउँदै आइतबार जारी विज्ञप्तिमा मन्त्रालयले खोपको विकल्पमा एउटै प्रकृतिको एस्ट्राजेनेकाको खोप लगाउने निर्णय भएको जनाएको छ । तर, उक्त खोप भने प्राप्त भइसकेको छैन ।

सरकारले गत फागुन २३ गतेपछि देशभरमै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्यूटबाट उत्पादित कोभिसिल्ड खोप लगाउन शुरु गरेको थियो। यस्तै, १४ जिल्लामा ५५ वर्षका माथिका व्यक्तिलाई पनि खोपको पहिलो डोज लगाइएको थियो।

गत फागुन २३ देखि चैत १० गतेसम्म कोभिसिल्डको पहिलो डोज लगाएका विशेष गरी देशभरका ६५ वर्ष माथिका र १४ जिल्लाका ५५ वर्ष माथिका नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका करिब १३ लाख ५० हजार बढी नागरिक दोस्रो डोजको प्रतिक्षामा छन्। 

प्रतिक्रिया दिनुहोस्