एजेन्सी । अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सीले राष्ट्रिय टोलीबाट खेल्दा विशेष र महत्वपूर्ण हुने बताएका छन् ।
कोपा अमेरिकामा अर्जेन्टिनाको खेलअघि बोल्ने क्रममा मेस्सीले भने, ‘राष्ट्रिय टोलीबाट खेल्दा सधैं विशेष हुने गर्छ । चाहे त्यो मैत्रीपूर्ण होस्, छनोट, कोपा वा विश्वकप नै किन नहोस्, सबै क्षण महत्त्वपूर्ण हुन्छ । मैले कहिले पनि राष्ट्रिय टोलीबाट यति धेरै खेल्छु भन्ने सोचेको थिइनँ ।’
उनले अर्जेन्टिना कहिल्यै पनि आफ्नै भरमा मात्र नरहेको पनि बताए । उनले भने, ‘राष्ट्रिय टोली कहिले पनि मेरो भरमा खेलेको छैन । हामी सधैं एकवद्ध भएर कसरि बलियो प्रदर्शन गर्ने भन्ने लक्ष्यमा हुन्छौं ।’
उनले कोपा अमेरिकामा अर्जेन्टिनाको तयारी राम्रो रहेको बताए । महत्त्वपूर्ण रहने बताएका छन् । ‘हामीलाई महत्त्वपूर्ण जितको खाँचो छ । हामी सुधार गर्ने क्रममा छौं र पहिलो खेलमा जित आवश्यक छ । हामीलाई आउने खेलका लागि यसले मनोबल उच्च पार्छ,’ उनले भने, ‘खेल कठिन हुनेछ । हामी चिलीविरुद्ध फेरी खेल्दैछौं । हामी एक अर्काको बारेमा राम्रोसँग जान्दछौं र खेल प्रतिस्पर्धात्मक हुनेछ ।’
अर्जेन्टिनाले सोमबार चिलीविरुद्ध कोपा अमेरिकाको पहिलो खेल खेल्दैछ । अर्जेन्टिना सन् २०१५ र २०१६ को फाइनलमा चिलीसँग नै पराजित भएको थियो ।
मेस्सीले क्लब स्तरमा सम्भव सबै उपाधि जिते पनि राष्ट्रिय टोलीबाट भने उपाधि जित्न सकेका छैनन् । यसपटक उनलाई अर्जेन्टिनाबाट कोपा अमेरिका जित्दै उपाधि खडेरी तोड्ने लक्ष्य छ ।












