Logo
Logo

करोडौं कमाएर मालपोतका प्रमुख फरार, तीन कर्मचारी पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ चैत ।
बाराका दुई मालपोत कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तीनजनालाई पक्राउ गरेको छ । अख्तियारको हेटौँडास्थित कार्यालयले सोमबार मालपोत कार्यालय कलैया दरबन्दी भएका लेखापाल जुगल ठाकुर र मालपोत कार्यालय सिमरा सेवाकेन्द्रका दुईजनालाई नियन्त्रणमा लिएको हो ।

ठाकुरसँगै मालपोत कार्यालय सिमराका प्रमुख मदन गुप्ताका निजी सवारीचालक सुनील पटेल र सुब्बा शत्रुघन पटेललाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनीहरूले किर्ते करोबारका लागि सिमरा मालपोतका प्रमुख मदन गुप्तालाई सघाउने गरेको खुलेको छ । कलैया मालपोत दरबन्दी रहे पनि दुवै कार्यालयको लेखापालका रूपमा काम गर्ने ठाकुरलाई कलैयास्थित मालपोत ार्यालयपरिसरबाट नियन्त्रणमा लिइएको थियो । पक्राउ परेका सबैलाई मंगलबारै काठमाडौं लगिएको छ ।

चालकको घरमा दुई बोरा कागजपत्र
अकुत सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले गुप्तामाथि निगरानी गर्दै आएको थियो । अख्तियारले निगरानी बढाएको थाहा पाएयता उनी फरार छन् । यसअघि मालपोत कार्यालय पर्सामा कार्यरत गुप्ताले बारा र पर्साका कैयौँ कागजात आफ्नो निजी सवारीचालकका घरमा लुकाउँदै आएको अनुसन्धानमा खुलेको स्रोतले जनाएको छ । ‘चालक पटेलको घरमा खानतलासीका क्रममा दुवै जिल्लाका गरी २ बोरा कागजपत्र फेला परेको छ । सोही कागजपत्रसहित उनलाई नियन्त्रणमा लिएका हौँ,’ स्रोतले भन्यो । गुप्ताको किर्ते कारोबारमा सिमरा मालपोतका सुब्बा शत्रुघन पटेल पनि संलग्न रहेको अनुसन्धानमा पाइएको अख्तियारले जनाएको छ ।

घरमा भेटियो २५ लाख
अख्तियारले लेखापाल जुगल ठाकुरको घरको समेत खानतलासी गरेको छ । त्यसक्रममा २४ लाख ९२ हजार रुपैयाँ बरामद भएको छ । रकमको स्रोत नखुलेपछि नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । ‘भू–माफियाको सञ्जाल बारा र पर्सा दुवै जिल्लामा छ ।’ स्रोतले भन्यो, ‘अरू धेरैमाथि निगरानी छ, उनीहरूविरुद्ध सबुत फेला पर्नासाथ पक्राउ गर्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस्