Logo
Logo

कांग्रेसको वडा अधिवेशन १० दिन सार्ने तयारी


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन दश दिन पर धकेलिने भएको छ ।

पाँच हजार उजुरीबारे छानबिन गरेको केन्द्रीय क्रियाशील छानबिन समितिको प्रतिवेदन केन्द्रीय समिति र सभापति शेरबहादुर देउवालाई पेश गर्न ढिलाइ भएको र बारा तथा सप्तरीलगायत केही जिल्लामा नयाँ क्रियाशील हालका लागि स्थगित गरिएपछि केही दिन वडा अधिवेशन सार्न लागिएको हो ।

कांग्रेसले बनाएको महाधिवेशन कार्यतालिकाअनुसार साउन १२ गते देशैभरका वडा अधिवेशन हुनुपर्छ । तर सोमबारसम्म क्रियाशील सदस्यताको अन्तिम सूची सार्वजनिक भइसकेको छैन । छानबिन समितिले केन्द्रीय समिति र सभापति देउवालाई क्रियाशीलको सूची बुझाएपछि अध्ययनपछि सभापति देउवाले केन्द्रीय निर्वाचन समितिलाई नामावली बुझाउनेछ ।

केन्द्रीय निर्वाचन समितिले नामावली पाएपछि सबै जिल्लाहरूमा पठाइन्छ । त्यसपछि मात्रै वडा अधिवेशनको तयारी पुग्छ । वडा अधिवेशनका मतदाता क्रियाशील सदस्य भएकोले पहिले क्रियाशीलको टुंगो लगाउनुपर्ने हुन्छ ।

विवाद देखिएका जिल्लाका विवरण छानबिन समितिले केन्द्रीय समितिमै फर्काइदिएको छ। ती विवरण के गर्ने भन्नेबारे पदाधिकारी वा केन्द्रीय समितिबाट निर्णय गर्नुपर्ने हुन्छ ।

विवाद भएका ठाउँमा १३ औं महाधिवेशनकै क्रियाशीलबाट अधिवेशन गर्ने विकल्पबारे पनि कांग्रेसभित्र छलफल भइरहेको छ । छानबिन समितिका सदस्य प्रदीप पौडेका अनुसार करिब एक सय २५ वडामा क्रियाशीलबारे विवाद टुंगिन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्