Logo
Logo

प्रहरीको सफलताः एक वर्षमा सात हजार फरार अभियुक्त पक्राउ


दृष्टि संवाददाता



काठमाडौं । अदालतले दोषी ठहर गरेर पनि समाजमा फरार रहेका अपराधीलाई पक्राउ गर्ने नेपाल प्रहरीको अभियान सफल देखिएको छ । आर्थिक वर्ष २०७७/७८ मा अघिल्लो वर्षमा भन्दा दुई सय १६ प्रतिशत धेरै फरार अभियुक्त पक्राउ परेका छन् ।


प्रहरी प्रधान कार्यालयका अनुसार २०७७ को साउनदेखि २०७८ को असारसम्म सात हजार तीन सय ९० जना फरार अभियुक्त पक्राउ परेका छन् । अघिल्लो वर्ष दुई हजार तीन सय ३२ जना पक्राउ परेका थिए । फैसला कार्यान्वायनको अभियानमा प्रहरीलाई अभूतपूर्व सफलता प्राप्त भएको प्रहरी प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताए ।
गत वर्ष फरार अपराधीबाट प्रहरीले ४८ करोड ८९ लाख ७४ हजार राजश्व संकलन गरेको छ भने चार हजार २१ वर्ष ८ महिना कैद समेत भुक्तान भएको छ । अदालतले दोषी ठहर गरेर पनि सजाय भुक्तान नगरेकाहरुलाई पक्राउ गर्न अभियान चलाइएको र त्यसमा सफलता प्राप्त भएको प्रवक्ता कुँवरको भनाई छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हरेक जिल्लाका इन्चार्जलाई फरार अभियुक्त पक्राउ गर्ने कामलाई प्राथमिकता दिन निर्देशन दिएका थिए । लकडाउनको समयमा अपराधीहरु पनि घरमै बस्ने भएकाले पनि धेरै पक्राउ परेका हुन् ।
त्यस्तै, गत आर्थिक वर्षमा लागू औषध बरामद पनि बढेको छ । लागू औषध मुद्दामा एक वर्षमा चार हजार ६ सय २६ जना पक्राउ परेका छन् । लागु औषध बरामद पनि अघिल्लो वर्षभन्दा ५२ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्