Logo
Logo

तालिबान नेताले चीन पुगेरै भेटे विदेश मन्त्रीलाई


दृष्टि संवाददाता



काठमाडौं । अफगानिस्तानमा प्रभाव बढाउँदै लगेको विद्रोही समूह तालिबानका नेताहरूले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न सुरु गरेका छन् । बुधबार तालिबान नेताको एउटा समूह छिमेकी चीनको उत्तरपूर्वी शहर तियान्जिन पुगेको छ ।

तालिबानका राजनीतिक प्रमुख मुल्लाह अब्दुल घानी बारादारसहित ९ जनाको टोलीले चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेटवार्ता गरेको हो । भेटका क्रममा विदेश मन्त्री यीले अफगानिस्तानको पुनर्संरचना र मेलमिलापमा तालिबानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका थिए ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार चीनको राष्ट्रिय सुरक्षालाई प्रत्यक्ष खतरामा पार्न सक्ने इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्टलाई पनि तालिबानले सघाउन नहुने उनको भनाइ थियो ।

जवाफमा तालिबान नेताहरूले चीनलाई खतरा हुने कुनै कामका लागि अफगानिस्तानको भूमि प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए । तालिबान प्रवक्ता मोहम्मद नाइमका अनुसार चिनियाँ अधिकारीहरूको निमन्त्रणामा उनीहरू चीन पुगेका हुन् ।

‘राजनीति, अर्थतन्त्र, दुबै देशसँग सम्बन्धित सुरक्षाको विषय र अफगानिस्तानको अहिलेको अवस्थाबारे भेटमा छलफल भएको छ,’ नाइमले भनेका छन्,‘हाम्रो टोलीले चीनविरूद्ध आफ्नो भूमि प्रयोग हुन नदिने बताएको छ भने चीनले पनि अफगानिस्तानलाई सहयोग जारी राख्ने र हस्तक्षेप नगरी समस्याको शान्तिपूर्ण समाधानमा सघाउने कुरा दोहोर्‍याएको छ।’

प्रतिक्रिया दिनुहोस्