Logo
Logo

हाम्रो बहुमत कामय छ, सरकार ढल्दैन



काठमाडौं । एमाले विभाजनसँगै एमाले नेतृत्वको प्रदेश १ सरकार अल्पमतमा परेको छ । अल्पमतमा परेपछि मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने मानसिकता बनाइसकेका छन् । एमालेले भीम आचायलाई मुख्यमन्त्री बनाउने प्रयास पनि थालेको बुझिन्छ । सत्ता जोगाउने एमालेले के गरिरहेको भन्ने सन्र्दभमा प्रदेश १ का मुख्यमन्त्री तथा एमाले नेता शेरधन राईसँग गरिएको ‘सटीक संवाद’ प्रस्तुत छ ।

एमाले विभाजन भएपछि प्रदेश सरकार संकटमा परेको हो ?
पार्टी विभाजन भएपछि प्रदेश सरकारमा प्रभाव पर्नु स्वभाविक हो । तर, बजारको हल्ला जस्तो सरकार ढलिनै हाल्ने अवस्था होइन । पार्टी र सरकारलाई कुनै पनि क्षति, नोक्सानी नहोस् भन्नेमा हाम्रो प्रयत्न जारी छ । अहिलेसम्म परिस्थिति बिग्रेको छैन । त्यसैले सरकार ढलिहाल्ने अवस्था होइन ।

– पार्टी नै विभाजन भइसकेपछि प्रदेश सरकारमा पर्ने असर हल्ला मात्रै हुन्छ र ?
अलिअलि असर त पर्छ नै । एकाध माननीयज्यूहरू नयाँ गठन भएको दलमा जानुपर्ने बाध्यता होला । जानुहोला । मलाई के लाग्छ भने नेकपा एमाले टुटफुट, विभाजन आदीइत्यादी सबै भोगेर यो ठाउँमा आइपुगेको हो । त्यसैले मलाई लाग्दैन कि कोही माननीयज्यू टुटफुट, र विभाजनमा लाग्नुहुन्छ । मलाई विश्वास छ । त्यसैले सरकार नै ढल्ने अवस्था होइन ।

– विपक्षी गठबन्धले सरकार बनाउँने गृहकार्य थालिसक्यो नि !
विधि र प्रक्रिया पुर्याए उहाँहरूले सरकार बनाउनु हुन्न भन्ने हुँदैन । तर, हाम्रो सरकार नै बहुमतमा रहेको अवस्थामा उहाँहरूको सरकार कसरी बन्छ ? यदि, उहाँहरूले बहुमत दावी गर्दै सरकार बनाउने प्रयत्न गर्नु भयो भने फेस गर्ने कुरा त छँदैछ नि !

– तपाईंको धारणा त पार्टी विभाजन नै नभएको जस्तो बुझियो !
यो विभाजन होइन । कमरेड माधव नेपाल र केही नेताले एमाले छोड्नु भएको मात्र हो । विभाजन भनेको २०५४ सालमा भएको थियो । त्यो विभाजनमा मुद्दा थियो । अहिले कुनै सैद्धान्तिक, वैचारिक मुद्दा छैन । नितान्त व्यक्तिगत चाहना, महत्वकांक्षा, व्यक्तिगत कुण्ठाका कारण माधव कमरेडले एमाले छोड्नु भएको हो । उहाँलाई एमालेमा बस्न अप्ठयारो लाग्यो । त्यसकारण उहाँले एमाले छोड्नु भएको हो । नयाँ पार्टी बनाउँदै हुनुहुन्छ । त्यसको प्रक्रिया आरम्भ भो । औपचारिक रूप लिन अझै बाँकी छ । त्यसैले यसलाई विभाजन भन्दा पनि एमाले छोड्ने प्रक्रिया सुरु भयो भन्नुपर्छ ।

– एमालेकै नेताहरू एमाले विभाजन भयो, एक बनाउनु पर्छ भनेर लाग्नु भएको छ । के त्यसको अर्थ छैन ?
त्यसको कुनै अर्थ छैन । आज आएर उहाँहरूले वक्तव्यवाजी गर्नुको अर्थ हुँदैन । १० बुँदे कार्यान्वयन नगर्ने कसैले भनेको छैन । अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि आह्वान गर्नुभएको छ । हामीले १० बुँदेलाई अनुमोदन गरेका छौं । १० बुँदे कार्यान्वयन गर्ने बेलामा माधव कमरेडहरूले अर्को बार्गेनिङ गर्दै आउनु भयो । अहिले तेस्रो धार भन्दै बैठक, भेला गर्नुको अर्थ छैन । तुरुन्तै रोक्नुपर्छ । यो पार्टीको हितमा छैन ।

प्रतिक्रिया दिनुहोस्