Logo
Logo

‘ओलीको नेतृत्वमा दरबारीया शक्तिहरु एकजुट भए’



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको नेतृत्वमा दरबारीया शक्तिहरु एकजुट भएको टिप्पणी गरेका छन् ।

पेशागत महासंघ वागमती प्रदेश कमिटीद्धारा शनिबार आयोजित ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशलाई विभाजन गर्ने शक्तिहरुको सहयोगमा ओलीले संविधान र लोकतन्त्रको विरोध गर्दै दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेको बताए ।

‘संविधान र लोकतन्त्रको रक्षाका लागि केपी ओलीको असंवैधानिक कदमको हामीले विरोध गर्यौँ । लोकतान्त्रिक शक्तिहरु, वामपन्थी शक्तिहरु एकताबद्ध भए’ अध्यक्ष नेपालले भने, ‘केपी ओलीको साथमा दरबारीय शक्तिहरु एकताबद्ध भए, विदेशपरस्त शक्तिहरु एकताबद्ध भए, देशलाई टुक्रयाउँन चाहने शक्तिहरु एकताबद्ध भए, दक्षिणपन्थी, अवसरवादी शक्तिहरु ओलीको पक्षमा एकताबद्ध भए ।’

केपी ओली प्रतिगमनको कदमबाट पछि नहट्ने र गरिएको सहमति कार्यान्वयन नगरेको बताउँदै उनले नक्कली सहमतिको जामा पहिर्याउदै आफ्नो टांगमुनि छिराउने नीति देखिसकेपछि आफूहरुको अगाडि कुनै विकल्प नभएको बताए ।

दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि आफूहरुले प्रतिगमनको विरोध गरेको उनले बताए । ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमनको बिरोधमा देशैभरी आन्दोलन गरेको स्मरण उनले गरे । संविधानको उल्लंघन गर्दै प्रतिनिधिसभा विघटन भएकाले सर्वोच्च अदालतले पुनस्र्थापना गरेर राम्रो काम गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्