Logo
Logo

सार्वजनिक जग्गा कब्जा गर्न माफियाहरू सक्रिय


रुपेन्द्र पटेल


वीरगन्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ औराहामा रहेको स्थानीय पैनीलाई पुरेर निजी जग्गामा घुमाइएको पाएको छ । केही स्थानीय जग्गा कारोबारीहरूले विगत लामो समयदेखि बग्दै गरेको पैनीलाई पुरेर निजी जग्गामा घुमाएको पाएको हो ।

विगत पाँच वर्ष अगाडि जग्गा कारोबारीहरूले पैनीलाई पुरेर नजिक नै रहेको सेन्ट अलफान्स विद्यालयलाई बिक्री वितरण गरेका छन् । साविक पिपरा सिमरा गाविस–४ मा पर्ने उक्त जग्गा स्थानीयतह गठन भएदेखि उपमहानगरपालिकामा समाहित भएपछि कारोबारीहरूको मिलोमतोमा करिब दुई विगाहा पैनीको जग्गालाई पुरेर निजी जग्गा बनाउँदै महंगोमा विद्यालयलाई बिक्री वितरण गरेका छन् ।

आर्थिक प्रलोभनका कारण कारोबारीहरूले बगिरहेको पैनी पुरेर निजी जग्गामा घुमाएको स्थानीय सुनिल साह कलवारले बताए । उनका अनुसार केही वर्ष अगाडिदेखि नै जग्गा कारोबारीहरू पैनीलाई पुरेर निजी जग्गामा पुर्याउँदै आएका छन् ।

पैनीबारे बुझन् न्यायीक समितिमा निवेदन

लामो समयदेखि बग्दै गरेको पैनीलाई पुरेर निजी जग्गामा घुमाएपछि जितपुर सिमरा उपमहानगरपालिकाको न्यायीक समितिमा उजुरी परेको छ । स्थानीय साहले गएको भदौ २ गते न्यायीक समितिमा निजीमा छानबिन गर्न निवेदन दर्ता गराएका हुन् । उक्त जग्गा र विद्यालयको बीचमा विगतमा पैनी बग्ने गरेको थियो ।

अहिले दक्षिण तर्फ बग्ने पैनीलाइ पुर्वतर्फ घुमाएर विद्यालयको संरचना बनाइएको छ । उक्त स्थानबाट करिब ३०० मिटर पुर्वसम्म निजी जग्गामा पैनीको बहाव बनाइएको छ । हाल पैनी पुरेर विद्यालयको भौतिक संरचना निर्माण गरिएको छ ।

स्थानीय सागर कार्कीका अनुसार जग्गा कारोबारीले पहिलोपटक २०७३ सालमा एक्स्काभेटरले माटो काटी पैनीको दक्षिणतर्फको बहाव बन्द गरेका थिए । उक्त कार्यको स्थानीयले विरोध जनाएका थिए ।

स्थानीयले पैनीको पुरानै बहाव कायम गर्न माग गरेका थिए । तर, जग्गा कारोबारीहरूले मनोमानी तरिकाले पुनः पैनीको बहाव परिवर्तन गरिदिएका हुन् । जग्गा कारोबारीले पैनीको बहाव पटक–पटक परिवर्तन गरेपछि उपमहानगरपालिका मौन बसेको छ । बहाव परिवर्तन गरिँदा वरिपरीका पैनी पुरिएर विद्यालयको भौतिक संरचना निर्माण भएसँगै केही ब्यक्तिलाई लगायतलाई फाइदा पुग्ने मनसायले काम गरीएको छ ।

५ किता निजि जग्गा पुरियो

जग्गा कारोबारीहरूले नजिकै रहेको विभिन्न निजी जग्गाको किताहरूमा पैनी घुमाएको साहले बताए । कारोबारीहरूले पैनीलाई पुरेर सेन्ट अल्फान्स विद्यालयलाई महंगो रकममा बेचेका छन् ।

स्थानीयका अनुसार कारोबारीहरूले निजी जग्गामा पैनी घुमाएर करौडाैं रकम हात पारेका छन् । स्थानीयले पैनी कब्जाको विरोध गर्दा स्थानीय निकायले वास्ता नगरेको उनीहरूको आरोप छ ।

यता, जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद पौडेलले जग्गा कारोबारीहरूले निजी जग्गामा पैनी घुमाएको बिषयमा जानकारी नभएको बताए । उनले पैनीको र निजि जग्गाकै विषयमा वडाअध्यक्षसँग बुझ्नलाई सल्लाह दिए ।

यस विषयमा वडा अध्यक्ष भोजबहादुर खत्रिले आफूहरू स्थानीयतहमा निर्वाचित हुनु अगाडि नै केही जग्गा कारोबारीहरूले पैनी कब्जा गरेको बताए । वडाको सार्वजनिक जग्गा कब्जा गर्नलाई कुनै पनि हालतमा नछाड्ने र यस्ता कार्यमा लाग्नेविरुद्ध कानूनी उपचार खोज्ने बताए ।

पालिका वा वडाभित्रका कुनै पनि सार्वजनिक जग्गालाई कब्जा गर्न मिल्दैन, कब्जा गर्नविरुद्ध आफूहरू उभिने बताए । निजी जग्गा कब्जा भएको विषयमा न्यायीक समितिमा उजुरी परेकाले यस विषयमा जानकारी आएको वडाअध्यक्ष खत्रिले बताए ।

उनले न्यायीक समितिबाट अहिले वडा कार्यालयमा आएको पत्रको जवाफ पठाउन थालिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्