दसैँमा घर जानेको भीड, ६ लाख बढी बाहिरिए « Drishti News – Nepalese News Portal
Logo

दसैँमा घर जानेको भीड, ६ लाख बढी बाहिरिए


दृष्टि संवाददाता


काठमाडौं । दसैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको चाप बढेको छ । दशैँको टीकाको दिन नजिकिंदै जादा काठमाडौं छाड्नेहरुको संख्या ह्वात्तै बढेको हो ।

काठमाडौंबाट बाहिरिनेहरुको चाप बढेसँगै यहाँका मुख्य सडक अस्तव्यस्त भएका छन् । यात्रुले भरिभराउ लामो दूरीका सवारी साधन काठमाडौंबाट छुट्न थाल्दा जाम नै भएको छ ।

काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरु कलंकी, बल्खु, कोटेश्वर, बालाजु लगायतका क्षेत्रमा घर फर्किनेहरुको सोमबार बिहानैदेखि ठूलो भीड लागेको छ । शिक्षा, रोजगारी तथा व्यवसायिक कामले घर बाहिर रहेकाहरु दशैंमा आफ्नै गाउँ फर्कने गरेका कारण काठमाडौंबाट बाहिरिनेहरुको भीड बढेको हो ।

महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता (एसपी) संजिव शर्मा दासका अनुसार यस वर्ष असोज ११ गतेदेखि असोज २५ गतेसम्म थानकोट, साँगा, फर्पिङ र तीन पिप्ले नाकाबाट गरी ६ लाख ५ हजारले उपत्यका छोडेका छन् ।

कोरोना महामारीको जोखिमकै बीच पनि मानिसहरु काठमाडौं उपत्यका लगायतका सहरबाट घर फर्किरहेका छन् । स्वदेश तथा विदेशमा रहेकाहरु घर फिर्तीले आफन्तजनको अनुहार मात्रै होइन गाउँघर नै उज्यालो बनाउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्