Logo
Logo

निर्वाचनको तयारीमा लाग्न अध्यक्ष ओलीको निर्देशन



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टीको पालिकास्तरका अधिवेशनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले मिति तय नभएपनि अब मुलुक निर्वाचनतर्फ अग्रसर भएकाले त्यसको तयारीमा लाग्न आग्रह गरेका हुन् । एमाले बहुदलीय प्रतिस्पर्धाबाट हरेश नखाने र आगामी निर्वाचनबाट जनादेश प्राप्त गर्ने उनले विश्वास व्यक्त गरे ।

पार्टीको केन्द्रीय कार्यालयको वार रुमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘मुलुकका जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान तथा राष्ट्रियताको रक्षाका लागि एमाले विजयी हुनुको विकल्प छैन । जनादेश हाम्रो पक्षमा आउने आत्मविश्वासका लागि देशभर पार्टीका काममा क्रियाशील हुन म आह्वान गर्दछु ।’

एमालेले यही कातिक ६ गते सबै वडास्तरमा अधिवेशन गरेको थियो भने आज नगरपालिका र गाउँपलिकास्तरका अधिवेशनको मिति तय गरेको हो । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म बाग्मती प्रदेशको चितवनमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्