Logo
Logo

माटोको भाँडा बनाउन कुम्हार समुदायलाई भ्याइनभ्याइ


रुपेन्द्र पटेल


रौतहट । दीपावली तथा छठ नजिकिएसँगै रौतहटका कुम्हार समुदायलाई यतिबेला माटोको भाँडाकुडा बनाउन भ्याइनभ्याइ छ । आउँदो कार्तिक १८ गते लक्ष्मीपूजा (दीपावली) र कार्तिक २४ गते छठ पर्व मनाइ्ँदै छ ।

दीपावली र छठ पर्वमा माटोको दीयो, गाग्रो, चौमुखे दीयो, कलश लगायतका माटोको भाँडाकुडा बिक्री हुने गरेको छ । दीपावली र छठ पर्व आउन केही दिन बाँकी रहँदा जिल्लाको कुम्हार समुदायले अहिले माटोका विभिन्न सामग्री बनाउन व्यस्त छन् ।

एका बिहानैदेखि अबेर रातिसम्म माटोको भाँडा बनाउने काममा उनीहरु व्यस्त छन् । माटोका भाँडाकुडा बनाउने कुम्हार समुदायका पुर्खाैली पेशा हो । उनीहरु प्रत्येक वर्ष दीपावली र छठ पर्वका लागि माटोको दीयो लगायतका सामग्री बनाएर राम्रो आम्दानी गर्दै आएका छन् । बनाएको सामग्री जिल्लाको गौर, शिवनगर, गरुडा, कटहरिया, समनपुर, चन्द्रनिगाहपुर लगायतको बजारमा विक्रि गर्दै आएका छन् ।

झिलीमिली बत्ती बालेर धुमधामका साथ मनाइने तिहारमा माटोको दीयो, चौमुखे दीयो लगायतका सामग्रीको माग अत्याधिक हुने गरेको छ । प्रत्येक वर्ष तिहारमा माटोको सामग्री बिक्रिबाट राम्रो आम्दानी गर्ने गरेको माधवनारायण नगरपालिका ६ माधोपुरका ५५ वर्षिय पनिलाल कुम्हारले बताए ।

उनी विगत २० वर्षदेखि माटोको भाँडाकुडा बनाउँदै आएका छन् । माटोको सामग्री विक्रिको लागि माधोपुरलगायत बजारमा लग्ने गरेको कुम्हारले बताए । बजार बाहेकका दिनमा घरमै आएर माटोको सामग्री खरिद गर्ने गरेकोले बजारको समस्या नरहेको उनी बताउँछन् । तिहार र छठ पर्वमा माटोको सामग्री बेचेर करिब ५० हजारसम्म आम्दानी गर्ने गरेको उनले थपे । महिलाहरु पनि यतिबेला सो काममा पुरुषहरुलाई सहयोग गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्