Logo
Logo

‘छेडेहद कप’मा कन्सनको ह्याट्रिक, तेस्रो कप पनि कब्जामा


नन्दा थापा


बाजुरा । सर्वाधिक धनराशीको तेस्रो छेडेदह कप फुटबल प्रतियोगिता २०७८ को उपाधि फेरि कन्सन बाजुराले उचालेको छ । पहिलो संस्करणदेखि उपाधिमा कब्जा जमाएको कन्सनले तेस्रो संस्करणसम्म पुग्दा निरन्तरता दिएको छ ।

कन्सनले छेडेदह कपका तीन वटै संस्करण माथि कब्जा जमाएर ह्याट्रिक गर्न सफल भएको छ । प्रतियोगितामा सहभागी २० टिममध्ये कन्सन बाजुरा र रानीवन स्पोर्टस क्लब फाइनल पुगेका थिए । खेलको ९० मिनेटमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए ।

१–१ गोलको बराबरीपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा रानीवनका २ खेलाडीको प्रहार कन्सनका गोल रक्षक जियाराम सेखले रोकेपछि कन्सन उपाधीको हकदार बनेको हो ।

उपाधिसँगै कन्सनले २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । उपाधिसँगै कन्सन बाजुराकै गोल रक्षक जियाराम सेख उत्कृष्ट गोल रक्षक, युवराज ढकाल उत्कृष्ट खेलाडी र सर्वाधिक गोल कर्ताको उपाधि पाएका छन् ।

यस्तै उपविजेता बनेको रानीवन स्पोर्टस क्लबले १ लाख ११ हजार १ सय ११ नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । रानीवनका खेम चयाराले उत्कृष्ट डिफेन्डर र आयोजक छेडेदह स्पोर्टस क्लब रातो टिमका १४ वर्षका खेलाडी निराजन धामीले उदयमान खेलाडीको उपाधि हात पारेका छन् ।

विजेता कन्सन बाजुराले आयोजक रातो र उपविजेता रानीवनले नौविस युवा क्लबलाई हराएर फाइन पुगेका थिए । दुवै टोली अपराजित यात्रासहित फाइनल पुगेका हुन् । ए, बी र सी डिभिजन खेल खेलिसकेका खेलाडीले भरिएको दुवै टिमले उत्कृष्ट खेल प्रर्दशन गरेका थिए ।ब

बाजुराको इतिहासमा छेडेदह स्पोर्टस क्लब मात्र लगातार तीन वटा संस्करण सम्पन्न गर्न सफल क्लब हो । एन्फा रेफ्री खुमबहादुर ओली, शिवहरि शर्मा, विवेश गुरुग र मानबहादुर बोहराले खेल खेलाएका थिए ।

वडा अध्यक्ष खगेन्द्र रावतले छेडेदह स्पोर्टस क्लबसँगको सहकार्यमा चौथोँ संस्करण पनि सञ्चालन गर्ने जानकारी गराए । खेल अवधिभर करिब १ करोड बराबरको आर्थिक कारोबार भएको अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं पूर्वमन्त्री कर्णबहादुर थापाले १ लाख व्यक्तिगत सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्