Logo
Logo

प्रहरीको शान्ति मिसनः प्रिस्याट परीक्षाप्रति उठ्यो प्रश्न

पहुँचवालाका आफन्तहरुलाई मापदण्ड लागू भएन



काठमाडौं । सयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसन नेपाल प्रहरीका लागि राम्रो अवसर हो । तर यूएन मिसनका लागि लिइने नेपाल प्रहरीतर्फको प्रिस्याट परीक्षाको प्रश्नपत्र आउट गरेर उच्चपदस्थका निकट र पहुँचवालाले मात्र त्यो अवसर लिने गरेका छन् । नेपाल प्रहरीको यूएन मिसनको प्रश्नपत्र सन् २०१७ देखि नै आउट हुने गरेको थियो । तर, सन् २०२१ मा मात्र त्यो सार्वजनिक भएको प्रहरी स्र्रोत बताउँछ । २०७८ साउन १५ र १६ मा लिइएको शान्ति मिसनको परीक्षाको प्रश्नपत्र पहिले नै बाहिरिएको घटना नै छताछुल्ल भयो ।

गएको साउनमा प्रश्नपत्र लिक भएपछि युएन मिसनले लिने परीक्षा निष्पक्ष हुने अपेक्षा गरिए पनि हुन नसकेको गुनासो प्रहरीभित्रैबाट आउन थालेको छ । २०७८ कात्तिक ३ मा लिइएको महिला प्रहरीको स्याट परीक्षामा पनि युएन शाखाकी प्रमुख एसपी गंगा पन्त, डीएसपी बासुदेव पाठकसहितको संरक्षणप्राप्त प्रहरी कर्मचारीमार्फत् परीक्षा सुरु हुनु ठीक अघिल्लो दिन राति १० बजे पुरानो सेटबाट सक्कली सीएलए नै दिने निर्णय गरेपश्चात् उक्त सीएलए आफ्ना निकटलाई गोप्य नम्बर(एनसेल) बाट भनिएको स्रोतले बताएको छ ।

प्रिस्याट परीक्षामा सहभागी भएका एक अधिकृतले भने–‘यूएन महाशाखाका एक इन्स्पेक्टरले धादिङको खानीखोला इलाका प्रहरी कार्यालयकी इन्स्पेक्टर रुपा थापालाई एनसेलकै नम्बरबाट भोलिपल्ट आउने संभावित प्रश्नहरुको बारेमा भनेको प्रहरी प्रधान कार्यालयले कल रेकर्ड हेरे पनि प्रष्ट हुनेछ ।’

समाचार स्रोतका अनुसार, ३ गते परीक्षा गरी सोही दिन १ घन्टाभित्रै उत्तरपुस्तिका परीक्षण गरी नतिजा निकालिएको थियो, जसमा एसपी पन्त र डीएसपी पाठकको सेटिङका अधिकांश पास भएका थिए । परीक्षा लिंदा सीसी क्यामरा राख्नुपर्नेमा नराखी परीक्षा लिइएको थियो ।

तत्कालीन गृहमन्त्रालयका सचिव र हाल अख्तियारका प्रमुख आयुुक्त प्रेमकुमार राईका बडीगार्ड सनम राईकी श्रीमती सई निरु सुवेदी प्रिस्याट फेल भए पनि स्याट परीक्षा दिन लगाएर मिसन पठाइएको थियो । प्रिस्याट फेल भएकालाई स्याटमा समावेश गर्न नै नपाउने भए पनि गृहसचिवका बडीगार्डकी श्रीमतीलाई विधि र मापदण्ड नै लागू हुन सकेन । निरु सु्वेदी ६ महिना मिसन गएर फर्किर फेरि मिसन पूरा नभएको भनी पुनः पठाउने कार्य पनि प्रहरीमा भएको छ । राईकै भतिजी प्रतिमा राई प्रिस्याट फेल भएर पुनः स्याट दिई सेटिङमै मिसन पास गरियो । उनी पास गराइएलगत्तै अस्वस्थताका कारण नगई भर्खरै मात्र सुडान मिसन गएकी छन् । सई हुँदै पास गरेकी उनलाई इन्स्पेक्टर बढुवापछि मिसन पठाइएको छ । तत्कालीन आइजीपी सर्वेन्द्र खनालले मापदण्ड बिपरीत मिसन पठाइएका यी दृष्टान्त हुन् ।

प्रहरी प्रधान कार्यालय नछाडेका पहुँचवाल, ४ पटक मिसन गएर आएकालाई प्रश्नपत्र लिक गरी पास गराइएको छ । तर दूरदराजमा २४ घन्टा ड्युटी गर्नेहरु फेल भएका छन्् । प्रथमतः ड्यटीमा खटिने, काठमाडौं बाहिरका जिल्लामा काम गर्नेहरुले पनि मिसन जानका लागि रातदिन नभनी मिसनको लागि अध्ययन गरेका हुन्छन्, तर जागिर खाएदेखि हेडक्वार नछाडेकाहरुलाई प्रश्नपत्र आउट गरी पास गराउँदा प्रहरीभित्र चरम असन्तुष्टि छाएको छ ।

सात वर्ष सेवावधि पूरा गरेपछि मिसन जान पाइन्छ, घोटिएर पढ्यो, हेडक्वाटरमा बसेका, उच्चपदस्थको निकट र आसेपासे, घुसका आधारमा प्रश्नपत्र लिक गरी पास गराइन्छ । यस्तो बेथितिले गर्दा रातदिन ड्युटी गर्नेहरुले त स्याट परीक्षा पासै गर्न नसक्ने भएका छन् । जसका कारण उनीहरु मिसन नै जान पाउँदैनन् । मिसनको परीक्षा अपारदर्शी हुँदा जागिर अवधि १६–२० बर्ष हुँदासम्म एकपटक पनि मिसन जान नपाएका पीडितको संख्या प्रहरीमा ठ्रूलो छ । यूएन शाखाका डीएसपी वासुदेव पाठक, इन्स्पेक्टर दिनेश पुनको रैथाने समूह र प्रिस्याट परीक्षाका लागि संचालित कोचिङ सेन्टरबीच पनि सेटिङ हुने गरेको छ ।

मिसन परीक्षा पारदर्शी गराउन वर्तमान आइजीपी शैलेश थापा क्षेत्रीले विशेष कदम नचाले शान्ति मिसन पहुँचवाला र यूएन शाखामा बस्नेहरुका लागि मात्र हुने भएको छ । यूएन शाखामा बसेर आफैं क्राइटेरिया बनाउने र आफैं मिसन जाने खेल एसपी गंगा पन्त र डीएसपी शर्मिला गुरुङले अवलम्बन गरेका छन् । उक्त शाखाबाटै गुरुङ मिसन गइन्, अहिले पनि उनी त्यही शाखामा छिन् ।

प्रहरीमा ड्युटी छाडेर कोचिङ सेन्टरमा पढ्न जाने गरेका छन् । ती कोचिङसँग यूएन शाखाका प्रहरी हाकिमहरुको सेटिङ हुँदैआएको छ । कोचिङ सेन्टरमा जे पढाइन्छ, सेटिङमा यूएन शाखाका प्रहरी हाकिमहरुले त्यही अनुसार हरेक परीक्षाको प्रश्नपत्र निकालिन्छ । पाठक र पुनको सेटिङ कोचिङ सेन्टरमा भएको र त्यही अनुसार प्रश्नपत्र निकालेर पास गराउने गरिएको छ । प्रहरीका एक इन्स्पेक्टरले भने–दिनेश पुनले यूएन महाशाखामा हुँदा उनकी श्रीमती अन्जना रेग्मीलगायत १० जनालाई सेटिङ गरी प्रश्नपत्र आउट गरेरै पास गराएको प्रमाण नै दिन सकिन्छ ।

यतिमात्र होइन, प्रिस्याटको उत्तरपुस्तिका परीक्षण गर्दा पनि पास फेल गराउने गरिएको छ । प्रश्नपत्र आउट गर्दा डा. तपन दाहालले सबै प्रश्नको ठीक उत्तर दिंदा पनि फेल गराइएको र हाल यूएन शाखामा कार्यरत एक हाकिमले लेख्दै नलेख्दा पनि मिसन पास गराइएका बिगतका दृष्टान्त प्रहरीमा धेरै रहेको प्रहरी स्रोत बताउँछ ।

मिसन परीक्षा पारदर्शी गराउन वर्तमान आइजीपी शैलेश थापा क्षेत्रीले विशेष कदम नचाले शान्ति मिसन पहुँचवाला र यूएन शाखामा बस्नेहरुका लागि मात्र हुने भएको छ । यूएन शाखामा बसेर आफैं क्राइटेरिया बनाउने र आफैं मिसन जाने खेल एसपी गंगा पन्त र डीएसपी शर्मिला गुरुङले अवलम्बन गरेका छन् । उक्त शाखाबाटै गुरुङ मिसन गइन्, अहिले पनि उनी त्यही शाखामा छिन् । अनुपम राणालाई हटाएर गएकी पन्त सर्वेन्द्र खनालको पालामा मिलाएर यूएन मिसनमा गई १० महिनामा फर्केकी हुन् । उनी पुनः १ बर्ष पूरा नभएको भन्दै मिसन जाने दाउमा छन् ।

प्रश्नपत्र लिक गर्ने मुख्य योजनाकार को हुन् ?

सन् २०१७ देखिकै प्रश्नपत्र लिक गर्ने मुख्य योजनाकार डीएसपी बासुदेव पाठक र इन्स्पेक्टर दिनेश पुन नै हुन् । पुनलाई यूएन शाखाबाट साउनमा सरुवा गरिए पनि पाठकलाई हटाइएन । प्रश्नपत्र लिक गरेकोबारेमा थप तथ्य उजागर हुने भएपछि जोगिन पाठक एक साताअघि भएको डीएसपी सरुवामा मोरङमा गएका छन् ।

प्रहरी स्रोतका अनुसार यूएन शाखाका प्रमुख अनुपमशमशेर राणा प्रश्नपत्र लिक गर्ने योजनाकारहरुको परिबन्दमा परेका हुन्, फसाइएका हुन् । योजनाकार डीएसपीद्वय बासुदेव पाठक, रुपेश खड्का र दिनेश पुन हुन् । खड्का सरुवासम्म भए तर पाठकलाई महाशाखामै राखियो । मुख्य योजनाकार हवल्दार कुमार शाहलाई ठहर गरी उनलाई बर्खास्त गरिएको छ भने, बर्खास्तका लागि सिफारिस हुने अन्यमा सई जनक थापा र परिचर सुरज बम रहेका छन् । यी तल्लो दर्जाकालाई बर्खास्त गरी मुख्य योजनाकार बासुदेव पाठकसहित माथिल्लो तहकालाई जोगाइएको छ । डीआइजी बसन्तकुमार लामाको छानबिन समितिले होचाको मुखमा घोचो भनेझैं मुख्य योजनाकारहरुलाई उन्मुक्ति दिई सई र सिपाही हवल्दारलाई जागिरबाट बर्खास्त गर्ने कार्य गरेको छ । लहरो तान्दा पहरो नै आउने भएपछि डीआइजीको छानबिन समितिले झारा टार्न तल्लो दर्जाका ४ जनालाई बर्खास्त गरी अरुलाई विभागीय कारबाहीको सिफारिस गरेको थियो । प्रश्नपत्र आउट गर्नेहरुकोबारेमा खोजी हुँदै जाँदा तत्कालीन गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले पनि अधिकृतलाई म्यासेन्जरमा पठाएको देखिएपछि तल्लो दर्जाकालाई कारबाही गरेको देखाएर यो प्रकरण सामसुम पारिएको प्रहरी स्रोत बताउँछ । ती अधिकृतलाई मिसनबाट यूएनमै सेटल गर्ने कार्य पनि न्यौपानेले नै गरेको चर्चा छ । हाल उनी यूएनमै कार्यरत छन् ।

जागिरबाट बर्खास्त भएका हवल्दार कुमार शाहले युएनको प्रिस्याट परीक्षामा आफूले रकम लिएर कति जनालाई प्रश्नपत्र आउट गरी पास गराएको हो, कसको निर्देशनमा गरेको हो बयान दिए पनि लामा समितिले उनको कुरा सुनेको नसुन्यै गरेको थियो ।

२०७८ कात्तिक ३ मा लिइएको १ सय ९ महिला प्रहरीका लागि भएको स्याट परीक्षामा यूएन शाखाका रैथाने र पहिला पनि प्रश्नपत्र आउट गर्दैआएका डीएसपी बासुदेव पाठकसहितको टोलीले परीक्षा हुन अघिल्लो राति १० बजे पास गराउनुपर्ने सेटिङ भएकालाई फोन गरी प्रश्नपत्र यो यो आउँछ भनेर जानकारी दिएको आरोप छ । कात्तिक २ गते रातिको यूएन शाखाका प्रहरी हाकिम पाठकसहितको मोवाइलको कल ट्याली गर्ने हो भने यूएन मिसनको परीक्षामा भएको नांगो धाँधली पुष्टि हुने प्रहरी स्रोत बताउँछ ।

यूएन शाखाका तत्कालीन एसपी अनुपमशमशेर राणालाई प्रश्नपत्र आउटका बारेमा जानकारी नहुँदा नहुँदै उनकै कार्यकालमा घटना सार्वजनिक भई प्रहरीकै छवि धमिलिन पुग्यो । प्रहरीकै स्रोतका अनुसार सन् २०१७ देखि नै यूएन मिसनको परीक्षामा प्रश्नपत्र आउट हुँदैआएकोमा राणा प्रमुख हुँदा उजागर भएको मात्रै हो ।

राणालाई फसाएर पाठक भने पानीमाथिको ओभानो बनेका छन् । पाठकलाई परीक्षा समितिमा नराखेपछि उनकै डिजाइनमा राणालाई फसाइएको भन्ने पनि प्रहरीमा चर्चा छ । प्रश्नपत्र आउट गर्ने मुख्य भूमिका डीएसपी पाठककै भए पनि उनले बठ्याइपूर्वक प्रविधि उपयोग नगरी हातले लेखेर प्रश्नपत्र दिने गरेकाले प्रमाण अभावमा उनी जोगिन सफल भएका हुन । पाठकले इन्स्पेक्टर जानुका खरेललाई प्रश्नपत्र आउट गरे, फेरि आफैं खरेलबाट प्रश्नपत्र आउट भएको थाहा पाएँ भने । खरेलबाट प्रश्नपत्र आउट भएको थाहा पाएँ भनेका पाठकले उनलाई अर्को परीक्षामा पास गराउने ग्यारेन्टी लिई आफ्नो पोल नखोल्न बाध्य पारेको स्रोतको दाबी छ । खरेल हालसमम प्रिस्याट पास नभए पनि यसपटक डीएससपी पाठकले प्रश्नपत्र पहिले नै भनेकाले पास भएकी छन् ।

पूर्वआइजीपी सर्वेन्द्र्र खनालको सेटिङमा उनी जोगिन सफलमात्र भएनन्, अहिले पनि यूएन शाखामै कार्यरत छन् । यूएन शाखाबाट प्रिस्याट र स्याट परीक्षा लिने हर्ताकर्ता उनै छन् । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीको शान्ति मिसनको परीक्षा मिसन नगएका अधिकृतलाई राखी संचालन गरी पारदर्शी बनाउने कार्य गर्ने आशा नेपाल प्रहरीका सकलदर्जाले गरेका छन् । र, यूएन मिसनका लागि लिएको गएको कात्तिक ३ को परीक्षाको पनि छानबिन गर्न माग गरेका छन् । त्यति धेरै परीक्षार्थीको उत्तरपुस्तिका उही दिन परीक्षा लिएर उही दिन एक घन्टामा परीक्षण गरी नतिजा निकालियो, छानबिन गर्नका लागि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्