Logo
Logo

१० बुँदे पक्षधरलाई अपमानपूर्वक लखेट्ने ओलीको योजना



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदेको सान्दर्भिकता समाप्त भएको अभिव्यक्ति दिएसँगै तद्नुरुप व्यवहार प्रदर्शन गरिरहेका छन् ।

१०औं महाधिवेशनको प्रतिनिधि चयनसम्म पुग्दा पार्टीका एकाधबाहेक कुनै पनि संरचना ०७५ जेठ २ को स्थितिमा पुगेन । बरु, माधव नेपाललाई अन्तिममा धोका दिने १० बुँदे सहमति पक्षधर नेता–कार्यकर्तालाई महाधिवेशन प्रतिनिधि बन्नबाट रोक्दै–रोक्दै १० प्रतिशतमा खुम्च्याइएको छ ।

केन्द्रीय सदस्यमा उम्मेदवार हुन चाहने १० बुँदे पक्षधर नेताहरु थुप्रै छन् । तर, उनीहरुलाई मतदान गरेर जिताइदिने प्रतिनिधि न्युन छन् । जति प्रतिनिधि भएर जाँदैछन्, ती सबैले भोट हाले पनि जित्नका लागि ती भोट पर्याप्त हुँदैनन् ।

पदाधिकारी सर्वसम्मत गर्ने नाममा सुरेन्द्र पाण्डे र योगेश भट्टराईलाई उपमहासचिव र सचिवमा सेट गर्ने ओलीको तयारी छ । तर, १० बुँदे पक्षधरले यी दुई भाइबाट आफूहरुको प्रतिनिधित्व नहुने बताएका छन् । उनीहरु सर्वोच्च अदालतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गर्ने एमालेका तत्कालिन सांसद हैनन् ।

भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, रघुजी पन्तहरुलाई उनीहरुको पूर्वपदको सम्मान गर्दै फेरि पनि पदाधिकारी बनाउनुपर्ने १० बुँदे पक्षधर नेताहरुको माग छ । त्यसमध्ये अष्टलक्ष्मीलाई ज्येष्ठ कम्युनिष्ट मञ्च र युवराज ज्ञवालीलाई उपाध्यक्ष बनाउनेबाहेक ओलीको कुनै योजना नभएको स्रोतको भनाइ छ ।

एमालेले १० बुँदे पक्षधरलाई अपमानपूर्वक पार्टीबाट लखेट्न चाहेको बुझेपछि अहिले उनीहरुमध्ये केही नेता नेकपा (एकीकृत समाजवादी) को सम्पर्कमा गएका छन् । त्यसमध्ये घनश्याम भुसालनिकट डडेल्धुराका पार्टी अध्यक्ष डा. ताराप्रसाद जोशी तिहारअघि नै एकीकृत समाजवादी प्रवेश गरिसकेका छन् । अहिले विभिन्न जिल्लाबाट एमाले छोडेर एकीकृत समाजवादीमा प्रवेश गरेकामध्ये अधिकांश नेता–कार्यकर्ता भुसालनिकटका हुन् ।

ओलीको भित्री तयारी
ओलीले उपाध्यक्षमा (वरिष्ठसहित) रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल, सुवास नेम्वाङ, राधा ज्ञवालीहरुलाई नछुटाउने भएका छन् । त्यसमा वरिष्ठ बादल कि ईश्वर भन्नेमा अझै टुंगोमा पुगेका छैनन् । बादलले वरिष्ठ उपाध्यक्ष नपाए एमालेमा गइरहेका माओवादीको संख्या पातलिने खतरा रहने कारण ईश्वरलाई नबनाउन चाहेका छन् ।

महासचिव विष्णु पौडेल र उपमहासचिव शंकर पोखरेल र सुरेन्द्र पाण्डेको चर्चा छ । योगेश, गोकर्णहरु सचिवमै थन्क्याइने अवस्था छ । पाँच सचिवभित्र उनले महेश बस्नेत, गोकुल बाँस्कोटा, निरुदेवी पालसम्मलाई लैजाने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्