Logo
Logo
एमालेको १०औँ महाधिवेशन

सेभेन स्टारमा बन्द सत्र, चार हजारका लागि कोठा बुक



काठमाडौं । नेकपा एमालेले १०औँ राष्ट्रिय महाधिवेशन तयारी तीव्र पारेको छ । चितवनमा हुने महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा बुधबारदेखि मञ्च निर्माणको काम सुरु भएको छ । त्यसका लागि काठमाडौँबाट प्राविधिक टिम चितवन पुगेको छ ।

यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख कार्यकर्ता उतार्ने एमालेको तयारी छ । बन्द सत्र ११ र १२ मंसिरमा सौराहाको होटल सेभेन स्टारमा हुने तय भएको छ ।

बन्द सत्र हुने सौराहामा प्रतिनिधिका लागि आवास र खानपानको व्यवस्था गरिएको छ । दुई हजार महाधिवेशन प्रतिनिधि, १५ सय स्वयंसेवक र पाँच सय अतिथि तथा पत्रकार गरी चार हजार जनाका लागि कोठा बुक गरिएको छ । बन्द सत्रमा सहभागीले सौराहामा पाँच छाक खाना खाने छन् । १० मंसिरमा राति एमाले अध्यक्षका तर्फबाट विशेष खानाको व्यवस्था गर्ने भनिएको छ ।

यस्तै, ११ र १२ मंसिरको बिहानको ब्रेकफास्ट र बेलुकीको खाना गरी चार छाकको व्यवस्था गर्न व्यवसायीहरूलाई भनिएको एमालेका एक नेता बताए उनका अनुसार दुई दिन दिउँसोको खानाको पनि आयोजकले नै व्यवस्था गर्ने भएको छ ।

बन्द सत्र हुने होटलनजिकै खाली चौरमा पाल तथा स्टेज बनइएको छ । जहाँबाट पार्टी अध्यक्ष केपी शर्मा ओल्ले कार्यकर्तालाई सम्बोधन गर्ने महाधिवेशन आयोजक समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले बताए । यस्तै, ११ गते बेलुकीसम्म उम्मेदवारी दर्ता र फिर्ताको काम सकेर १२ गते बिहानबाट भोटिङ सुरु हुने भएको छ ।

होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीका अनुसार आयोजकसँग औपचारिक सम्झौता भइसकेपछि खाना र खाजाको मेन्यु सार्वजनिक गरिनेछ ।

एमाले महाधिवेशनको बन्द सत्रमा सहभागी हुनेहरूलाई कोठा भाडामा २० देखि ५० प्रतिशत छुट दिने निर्णय भएको क्षेत्रीय होटल व्यवसायी संघ चितवनका अध्यक्ष दीपक भट्टराईले बताएका छन् ।

संघले होटललाई ‘ए’, ‘बी’ र ‘सी’ वर्गमा छुट्याएको छ । स्टार लेभलका होटललाई ‘ए’ वर्गमा राखिएको छ भने मध्यम वर्गका होटललाई ‘बी’ वर्गमा राखिएको छ। साना होटललाई ‘सी’ वर्गमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्