Logo
Logo

नक्कली लाजपूर्जामा १९ करोड कर्जा : कुमारी बैंकका उच्च कर्मचारीमाथि मोडियो अनुसन्धान




काठमाडौं ।
नक्कली लालपुर्जाका आधारमा कुमारी बैंकबाट १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको घठनामा बैंकिङ कसुर अपराध अन्र्तगत अनुसन्धान सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंलेसोमबार प्रहरीलाई बैंकिङ कसुर मुद्दामा अनुसन्धान गर्न लिखित निर्देशन दिएको हो ।


यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले लिखत कीर्तेसम्बन्धि मुद्दामा मात्र अनुसन्धान गरेको थियो । अपराधको प्रकृती बैंकिङ कसुरसँग समेत मिल्ने भएको भन्दै उसले यससम्बन्धि अनुसन्धान गर्न भनिएको सरकारी वकिल कार्यालयका एक अधिकारीले बताए । सोही आधारमा सिआइबीले उच्च अदालत पाटनबाट पक्राउ परेका पाँच आरोपीलाई थुनामा राख्न म्याद थप गरेको छ । अब बैंकका कर्मचारीमाथि पनि छानबिन हुने सिआइबीका एसपी श्याम महतोले बताए ।


गायक योगेश्वर अमात्यको बाराको विश्रामपुरमा रहेको १२ बिघा जग्गा डेनियल ट्रेडिङ नामक कम्पनीलाई बिक्री गरेको देखाएर नक्कली लालपुर्जा बनाई कुमारी बैंकबाट १९ करोड कर्जा प्रवाह भएको हो । यसमा संलग्न पाँच जना प्रहरी हिरासतमा छन् ।


कुमारी बैंकको वीरगन्ज शाखाका कनिष्ठ सहायक सोनु ठाकुर, धितो मूल्यांकनकर्ता राजेश चौरसिया तथा नक्कली लालपुर्जाका आधारमा कर्जा लिने एसकुमार महर्जन र मुक्तिलाल गौतम तथा बिचौलिया बनेका कुसन प्रधानलाई सिआइबीले २५ दिनअघि पक्राउ गरेको थियो ।


सो कम्पनीले बैंकको न्युरोड शाखामा कर्जाका लागि निवेदन दिएको थियो । न्युरोड शाखाले धितो मूल्यांकन गरेर पठाउन वीरगन्ज शाखालाई पत्राचार गरेको थियो । वीरगन्ज शाखाका कर्मचारी ठाकुरले धितो मूल्यांकनको नक्कली कागजपत्रमा हस्ताक्षर गरेका आधारमा उनलाई पक्राउ गरेको हो । बैंकका अन्य केही कर्मचारी फरार छन् । कर्जा दिने अन्तिम निर्णय भने केन्द्रीय कार्यालयबाटै भएको थियो । बैंकिङ कसुरसम्बन्धि अपराधमा नक्कली कागजपत्रका आधारमा कर्जा लिनेका साथै दिने समेत दोषी हुने उल्लेख छ ।


गायक अमात्यकै सूचनाका आधारमा प्रहरीले यस प्रकरणको अनुसन्धान थालेको थियो । अमात्यले आफ्नो जग्गाको नक्कली लालपुर्जा राखेर कर्जा प्रवाह भएकोे सुनेपछि त्यसबारे अनुसन्धानका लागि निवेदन दिएका थिए । अनुसन्धानको क्रममा उनको जग्गा डेनियल ट्रेडिङ नामक कम्पनीको नाममा देखाएर कर्जा प्रवाह भएको भेटिएको थियो । मालपोत कार्यालयमा भने सो जग्गा अमात्यकै नाममा छ ।


नक्कली लालपूर्जा भएको खुलेपछि पछि बैंकले अर्काे धितो राखेर कर्जा उठाउने प्रयास गरेको थियो । समयमै ‘गल्ती सुधार’ भएकाले बैंकलाई घाटा नभएको बैंकका एक अधिकारी बताउँछन् । बैंकका सिइओ अनुजमणि तिमल्सिनाको समेत यसमा कमजोरी भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्