Logo
Logo

अध्यापकको धन्दाः दिउँसो कलेज पढाउने, साँझ कोठी चलाउने




काठमाडौं । कलेजका अध्यापक यौनधन्दा चलाएको आरोपमा पक्राउ परेका छन् । कुलेश्वरस्थित जनमैत्री क्याम्पसमा पढाउने गुल्मी सत्यावती गाउँपालिका–४ का ५२ वर्षीय नेत्रलाल ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको हो ।


कोटेश्वरको भाटभटेनी सुपर मार्केटनजिकै नेवारी खाजाघरमा वेश्यावृत्ति हुने गरेको र त्यहाँ ग्राहक लैजाने काम ज्ञवालीको थियो । होटल सञ्चालिक उर्मिला श्रेष्ठसँग मिलेर उनले यस्तो धन्द्या गर्दै आएको खुलेको छ । गत १७ कात्तिकमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले ज्ञवालीलाई पक्राउ गरेको हो ।


ब्युरो प्रमुख एसएसपी दुर्गा सिंह चन्दका अनुसार खाजाघरमा यौनधन्दा सञ्चालन भएको सूचनापछि हामीले अपरेसन चलाइएको थियो । सोही क्रममा नेत्रलाल पक्राउ परे । ‘अनुसन्धान गर्दै जाँदा उनी कलेजको लेक्चरर रहेको खुल्यो । शैक्षिक योग्यता हेर्दा उनले त अंग्रेजी विषयमा डबल मास्टर्स नै पो गरेका रहेछन्,’ एसएसपी सिंहले भनिन् ।

यौनधन्दा चलेको सूचनापछि ब्युरो र माइती नेपालको संयुक्त टोलीले २५ भदौमा खाजाघरमा छापा मा¥यो । घरबाट पाँचभन्दा धेरै किशोरी उद्धार गरिए । उनीहरूलाई माइती नेपालको आश्रयमा राखियो । पहिलोपटकको बयानमा किशोरीहरू खाजाघरको सम्बन्धमा खुल्न चाहेनन् । महिना दिनको काउन्सिलिङपछि उद्धार गरिएकामध्येकी १६ वर्षीया विनिता शर्माले (परिवर्तित नाम) खाजाघरमा यौनधन्दा चल्ने गरेको खुलाइन् ।

बयानका क्रममा उनले दैनिक पाँचजनाभन्दा धेरै ग्राहकलाई सेवा दिनुपरेको र ग्राहकबाट प्राप्त रकम खाजाघर सञ्चालिका उर्मिलाले लिने गरेको बताइन् । ग्राहक खोज्ने काम भने नेत्रलाल ज्ञवालीबाट हुने गरेको खुलेपछि प्रहरी खोजीमा जुट्यो । केही दिनको खोजीपछि उनी पक्राउ परे । अनुसन्धानका क्रममा खुल्यो, यौनधन्दामा संलग्न उनी कलेजका लेक्चररसमेत रहेछन् ।

तर, खाजाघर सञ्चालिका उर्मिलालाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । ‘खाजाघर सञ्चालिका र नेत्रलाल लिभिङ टुगेदरमा बस्ने रहेछन् । खाजाघरमा यौनधन्दा चल्ने रहेछ । ग्राहक खोज्ने काम भने नेत्रलालले गर्ने रहेछन् । किशोरीसँगको बयानबाट यही खुलेको छ । खाजाघर सञ्चालिका र धन्दामा संलग्न अर्को एकजना फरार छन् । खोजीकार्य तीव्र पारेका छौँ । केही दिनभित्रै उनीहरू पक्राउ पर्नेछन्,’ ब्युरो प्रमुख एसएसपी सिंहले भनिन् ।

प्रहरीका अनुसार बयान दिने किशोरी काठमाडौंकै स्थानीय हुन् । उनी अहिले यौनरोगबाट ग्रसित छिन् । माइती नेपालको आश्रयमा रहेकी उनले सानैमा आमा गुमाएकी थिइन् । आर्थिक अभावपछि उनको अध्ययन पनि अघि बढ्न सकेन । आफन्तकहाँ बसिरहेकी उनी गत वैशाखबाट उर्मिलाको खाजाघरमा कार्यरत थिइन् । खाजाघरमा उनलाई दिदीको छोराले लगेर राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्