Logo
Logo

‘गठबन्धन टिक्दैन कि भन्ने आशंका हटिसक्यो’



धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धन टिक्दैन कि भन्ने आशंका र भ्रम हटिसकेको बताएका छन् ।

बुधबार बिहान धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘यो गठबन्धन मज्जाले चलेको छ । मानिसहरूले टिक्दैन कि भनेर आशंका गर्ने या भ्रम फैलाउने स्थितिको अन्त्य भइसकेको छ ।’

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुधबार धनगढी विमानस्थलमा स्वागत गर्दै पार्टीका नेता तथा कार्यकर्ता । तस्बिर/रासस

अध्यक्ष प्रचण्ले महाधिवेशनमा धेरै भोट पाउन कसैले गठबन्धन बलियो बनाएर जाने भनेका छन् भने कसैले बिरोध गरेको बताए । पाँच दलीय समन्यव समिति भनेर उच्चस्तरको संयन्त्र बनाएपछि र चुनाव मिलेर लड्छौँ भन्ने निर्णय भएपछि तत्काल देशमा अस्थिरता नआउने उनको भनाइ छ । उनले सरकार स्थिर रहनु सबैका लागि खुसीको कुरा भएको समेत बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘पाँच दलीय समन्वय समिति भनेर उच्चस्तरमा संयन्त्र बनाएका छौँ । त्यो पार्टीहरू बीचको संयन्त्र हो । सरकारलाई निर्देशन गर्ने, सरकारभन्दा माथि होइन ।’

संसारमा जहाँ पनि संयुक्त सरकार हुने ठाउँमा पार्टीहरूको आपसी समझदारी हुने बताउँदै उनले भने, ‘सरकार आफ्नो ढंगले चल्छ भने पार्टीहरूले आपसी समझदारी, सहमति, अन्तरक्रिया र आउने इस्युमा समान धारणा बनाउन संयन्त्र बनाएको अभ्यास छ ।’

उनले तत्कालै राष्ट्रिय सभामा खाली हुने १९ सिटमा गठबन्धनका दल मिलेर चुनाव लड्ने नीतिगत र व्यवहारिक निर्णय गरिसकिएको बताए । अध्यक्ष प्रचण्डले भने, ‘यो चुनावको परिस्थित हेरिसकेपछि आउने सबै चुनावमा समझदारी बनाएर जाने हामीले निर्णय गरिसकेका छौँ ।’

अध्यक्ष प्रचण्डले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने समेत बताए । प्रचण्डले न्यायालयबाटै समस्याको समाधान होस् भनेर नै गठबन्धनले अहिलेसम्म कुनै धारणा नबनाएको जनाए ।
‘न्यायालयमा अहिले जुन समस्या देखिएको छ । त्यो सकेसम्म न्यायालयबाटै समाधान हुनुपर्छ भन्ने हाम्रो धारणा हो,’ अध्यक्ष प्रचण्डले भने, ‘न्यायालयले निकास दिन नसकेमा छिट्टै सत्तारुढ गठबन्धनको बैठक बसेर आवश्यक निर्णय लिन्छौं ।’

प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्याका विषयमा अहिलेसम्म गठबन्धनभित्र छलफल नभएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्