Logo
Logo

नेकपाका भातृ संगठनमा असन्तुष्टि


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ जेठ ।
पार्टी एकीकरणको एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयले २२ जनवर्गीय संगठनको एकीकरण टुंग्याएको छ, भातृ सगठनमा असन्तुष्टि देखिएको छ । खासगरी संयोजक नपाएको पक्षमा असन्तुष्टि देखिएको छ ।
बिहीबार सचिवालय बैठकले २३ जनसंगठनमध्ये तत्कालीन एमाले पक्षलाई १६ र माओवादी पक्षलाई ६ जनसंगठनको नेतृत्व दिएर भागबन्डा टुंग्याएको हो । मधेसी संगठनको नेतृत्व भने टुंगो लाग्न बाँकी छ । एउटा पक्षले संयोजकको जिम्मा पाएको संगठनमा अर्को पक्षलाई सहसंयोजक दिइएको छ ।

किसान महासंघको नेतृत्वमा वामदेव गौतम

केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमसहित केही केन्द्रीय सदस्यसमेत जनवर्गीय संगठनको संयोजक भएका छन् । गौतम किसान महासंघको संयोजक तोकिएका छन् । तत्कालीन एमालेमा पनि उनी किसान महासंघकै अध्यक्ष थिए । त्यस्तै, जनजाति महासंघको संयोजक तोकिएका सुरेश आलेमगर र सहसंयोजक शेरबहादुर तामाङ पार्टी केन्द्रीय सदस्य हुन् । प्रेस संगठन नेपालको संयोजक बनाइएका महेश्वर दाहाल पनि पार्टी केन्द्रीय सदस्य नै हुन् ।

जनसंगठनको नेतृत्वमा रहेका अन्य पार्टी केन्द्रीय सदस्यमा युवा संगठन संयोजक रामप्रसाद सापकोटा, भूमिहीन किसानका संयोजक रामप्रित पासवान, मजदुर संयोजक विनोद श्रेष्ठ छन् । त्यस्तै, महिला संयोजक अमृता थापामगर र सहसंयोजक सीता पौडेल, पेसागत महासंघ संयोजक विश्वनाथ प्याकुरेल, जनसांस्कृतिक महासंघ संयोजक खगेन्द्र राई, दलित संगठन संयोजक तिलक परियार पनि पार्टी केन्द्रीय सदस्य हुन् ।
युवा संघ र अखिलमा असन्तुष्टि

जनसंगठनहरूको एकताको सूची सार्वजनिक भएलगत्तै अनेरास्ववियुभित्र असन्तुष्टि देखिएको छ । दोहोरो मापदण्ड अपनाएर विधि–प्रक्रिया मिचेर विद्यार्थीमा एकीकरण गरिएको भन्दै अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अखिलका उपाध्यक्ष रश्मि आचार्यले आपत्ति जनाएका छन् । पार्टीले अन्याय गरेको आरोप लगाउँदै ‘एकतामा विचित्रको विधि नअपनाउन’ नेतृत्वलाई खबरदारी गरेका छन् । विद्यार्थीमा तत्कालीन एमालेका तर्फबाट अखिलका महासचिव ऐन महरलाई संयोजक र तामाङलाई सहसंयोजक तोकिएको छ । महर यसअघि अनेरास्ववियुका महासचिव थिए । उनी आफ्नै नेतालाई कुटेको आरोपमा ६ महिना निलम्बनमा परेका विवादास्पद पृष्ठभुमी भएका बिद्यार्थी नेता हुन् । सहसंयोजक तोकिएका तामाङले राजिनामा दिने बताएका छन् ।

‘पार्टीले ममाथि अन्याय गरेको छ, विधि प्रक्रिया मिचेर गरिएको निर्णयप्रति मेरो असहमति छ, केही दिनभित्र धारणा सार्वजनिक गर्छु,’ तामाङले भनेका छन् ।आचार्यले पनि तामाङकैजस्तो असन्तुष्टि पोखेका छन् । ‘अध्यक्ष नहुने भए उपाध्यक्षलाई बनाउनुपर्नेमा अनेरास्ववियुमा एकैचाटि महासचिवमा पो झरेको भन्ने सुनियो । अध्यक्षपछि रोल नं २ उपाध्यक्षको हो भन्ने कुरा स्वयंसिद्ध होइन र ?’ आचार्यले सामाजिक सञ्जालमार्फत् असन्तुष्टि पोखेका छन्, ‘यस्तो दोहोरो मापदण्ड पक्कै पनि नअपनाउनुपर्ने । पार्टीको आधिकारिक घोषणा नहुन्जेल यस्तो कुरामा विश्वास गर्ने कुरै भएन ।’ एकीकृत अनेरास्ववियुको संयोजक बन्ने चाहना पार्टी नेतृत्वसामु स्पष्ट राखेका कारण अझै पार्टीले छलफल गरेर न्याय दिने आशा राखेको दाबेदारहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्