Logo
Logo

साग बेच्‍नेलाई कर, हेलिकोप्टर व्यवसायीलाई छुट !



३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको तीर्थस्थल पाथीभरामा हेलिकोप्टर । तस्बिर : आनन्द गौतम/कान्तिपुर

काठमाडौं । प्रत्येक साताको शनिबार फुङलिङ नगरपालिका–७ दोखुकी पुष्पा लिम्बू साग बेच्न तोक्मे डाँडामा लाग्ने हाट पुग्छिन् । अढाइ घण्टाको उकालो पसिना काढ्दै सागको भारी लिएर पुग्दा नपुग्दै उनलाई नगरपालिकाले १० रुपैयाँको कर रसिद थमाउँछ । शनिबार र मंगलबार लाग्ने हाटमा टहरा राख्नेले ५० रुपैयाँसम्म कर बुझाउनुपर्छ ।

साग, आलु, चामल, दाललगायतका गाउँले उत्पादन नै हाटमा खरिद बिक्री हुने गर्छ । फुटपाथ, टहरामा बसेर गाउँकै उत्पादन बिक्री गर्दा नगरपालिकाले कर लगाइरहँदा सुनसरीको धरान, धनकुटाको भेडेटार, इलामको फिक्कल, पाँचथरको फिदिमलगायत आसपासका क्षेत्रबाट ताप्लेजुङ आउजाउ गर्ने हेलिकोप्टर भने वर्षौंदेखि निर्बाध उडिरहेका छन् । जबकि छोटो हवाई दूरीमै पनि यात्रुले लाखौं रुपैयाँ तिरिरहेका छन् ।

नगरपालिकाले यसलाई भने करको दायरामा ल्याइएको छैन । व्यावसायिक रूपमा उडिरहेका अधिकांश हेलिकोप्टरले पाथीभरामा उडान भरिरहेका छन् । पाथीभरा क्षेत्र विकास समितिले पनि कुनै शुल्क तोकेको देखिँदैन । ताप्लेजुङ सदरमुकाम फुङलिङको हेलिप्याड र सुकेटारबाट पाथीभरा मन्दिर तीर्थयात्री पुर्‍याउँदा प्रतिव्यक्ति कम्तीमा १० हजार रुपैयाँ लिन्छन् ।

सामान्यतस् एक पटकमा ५ जना यात्रु उडाइन्छ । धरानबाट प्रतिव्यक्ति ३२ हजार रुपैयाँमा यात्रु उडाउने गरेको धरान होलिडे ट्राभल एन्ड टुरका मार्केटिङ म्यानेजर पविन श्रेष्ठ बताउँछन् । एउटै उडानमा १ लाख ६० हजार रुपैयाँसम्म आम्दानी हुन्छ । पाँचथरको फिदिमबाट २२ हजार र इलामको कन्यामवाट जनही ३५ हजार रुपैयाँ भाडा लिइन्छ ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्