काठमाडौं । चितवनको भरतपुर विमानस्थलमा बुद्ध एयरको ९एन एईई बीचक्राफ्ट जहाजले आकस्मिक अवतरण गरेको छ ।
भरतपुरबाट काठमाडौंका लागि उडेको बिचक्राफ्ट जहाज विमानस्थलबाट उड्नासाथ दुईमध्ये बायाँ इन्जिन फेल भएपछि भरतरपुर नै फर्किएको विमानस्थल स्रोतले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः१६ बजे आकाशमा उड्नेवित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो । जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् । अन्य कारणका बारेमा खोजी भइरहेको उनले जानकारी दिए ।
बुद्ध एयरको बीच क्राफ्ट जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले यात्रु र चालक दल सबै सकुशल रहेको बताए । कुनै समस्या हुनसक्ने भन्दै दमकल तयारी अवस्थामा राखिएको छ । यससँगै यहाँबाट हुने हवाई उडान प्रभावित भएको छ ।














