Logo
Logo

मिना केसीलाई गुरु दक्षिणा स्वरुप ‘मिना दिदी’ पुस्तक



काठमाडौं । किसान माध्यामिक विद्यालय झेडेवा पाल्पामा अध्यायन गरेका पूर्व विद्यार्थीहरुले आफ्नो गुरुआमा मिना कुमारी केसीलाई गुरु दक्षिणा स्वरुप ,‘मिना दिदी’ नामक पुस्तक अर्पण गरेका छन् ।

उक्त पुस्तक गुरुआमा मिनाका विद्यार्थी र समकालिन शिक्षकहरुले उनको सम्झनामा लेखेर पुस्तक प्रकाशन गरेका हुन् । गुरुआमाको विद्यार्थी उमानाथ पोखरेल पुस्तकका सम्पादक हुन् । पोखरेल मिनाका समकालिन शिक्षक समेत हुन् ।

‘मिना दिदी’ले पढाउने समयमा गरेको संघर्ष र विद्यार्थीप्रति गर्ने व्यवहार निकै स्मरणीयर रहेको सम्पादक पोखरेल बताउँछन् । आफूले पुस्तकको सम्पादन गरिरहँदा हरेक पूर्वविद्यार्थीहरुले लेखेका कुराहरुले आफूलाई उत्साहित बनाएको पनि उनले बताए ।

मिनाले आफ्ना लालाबाला बोकेर समेत विद्यार्थीलाई पढाउथिन् । उनले २०२७ देखि ०४७ सम्म अनवरत रुपमा पाल्पाको झडेवास्थित किसान माविमा अध्यापन गराएकी थिइन् ।

उक्त समयमा ‘मिना दिदी’ले अध्यायपन गराउँदाका विद्यार्थीले आफ्नो अनुभव लेखेका हुन् । छात्राहरुको सपनाको रुपमा रहेकी ‘मिना दिदी’लाई सबै भन्दा बढी उक्त विद्यालयका छात्राहरुले स्मरण गरेका छन् ।

सम्पादक पाखरेल भन्छन्- ‘उहाँ विद्यालयको पहिलो तामि प्राप्त महिला शिक्षक हुनुहुन्थ्यो । उहाँकै कारण धेरैले आफ्ना छोरीलाई विद्यालय पठाएका थिए । जिल्लाकै एक नमुना हुनुहुन्थ्यो मिना दिदी ।’

‘छोरी मान्छेले पढ्नु हुँदैन भन्ने समयमा छात्राहरुले सुरक्षित महसुस गर्दै अध्ययन गरेको उनीहरुको अनुभव छ,’ पोखरेलले भने, ‘मिना दिदी पुस्तकमा उहाँको जिवन मात्र नभई आजभन्दा ५० वर्षअघिको ग्रामिण क्षेत्रमा शिक्षाको अवस्था, महिला शिक्षकको संघर्षको कथा पढ्न पाइन्छ ।’

विद्यालयका प्रधानाध्यापक तुलाबहादुर सारु आफूले पढेकै विद्यालयका प्रधानाध्यापक छन् । उनले आफैले पढाएकी गुरुआमाको बारेमा पुस्तक उनलाई नै अर्पण र लोकार्पण गर्न पाउँदा अत्यन्तै खुशी लागेको सुनाए ।

विद्यालयमा संचालक समितिका अध्यक्ष शंकर दर्लामीले आफू पनि मिना दिदीको विद्यार्थी भएकोमा गर्व महसुस भएको बताए । उनले भने, ‘गुरुहरुले विद्यार्थीको जिवन निर्माण गरिदिएका हुन्छन् । तर, विद्यार्थीले भने उहाँहरुलाई सम्झने फुर्संदसम्म पाउँदैनन्, दुखद् कुरा हो ।’

कार्यक्रममा उपस्थित धेरै जसो ‘मिना दिदी’कै शिष्यहरु थिए । उनीहरुले ‘मिना दिदी’ले पढाउँदा अनुभवहरु सुनाएका थिए । पुस्तकमा पनि ‘मिना दिदी’को संघर्षले आफूमा भएको परिवर्तन र सफलताका अनुभवहरु लेखेकाे बताए ।

यस्तो पुस्तक लोर्कपर्णमा पहिलोपटक सहभागी हुन पाउँदा खुशी लागेको साहित्यकार प्रतिक ढकालले बताए । त्यस्तै वरिष्ठ गायक तथा संगीतकार लोचन भट्टाईराईले आमाप्रति समर्पित गीत सुनाएकी थिइन ।

मिना दिदीको छोरी तथा विद्यार्थी डा आरती कार्कीले शिक्षण पेशा अतिसम्मानित भएको बताइन् । उनले जिवन निमार्णमा शिक्षकको भूमिका कति महत्वपूर्ण हुन्छ भन्नेबारे बताइन् । आफूलाई शिक्षककी छोरी भन्दा निकै गर्व महसुस हुने गरेकाे बताइन् ।

कार्यक्रमकी सञ्चालिका तथा साहित्यकार नीलम कार्की ‘निहारिका’ले यस्तो विषेश काममा आफू सधैँ हातेमालो गर्न तयार भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्