काठमाडौं । चिट चोर्न नपाएपछि रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)का विद्यार्थीले शिक्षकमाथि कुटपिट गरेका छन् । ब्याचलर अफ आर्ट्स इन सोसल वर्क (बीएएसडब्लू) दोस्रो वर्ष अध्ययनरत कुवेर जेठाराले शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् ।
आरआर क्याम्पसमै रहेको पत्रकारिता केन्द्रीय विभागका उपप्राध्यापक ऋषिकेश दाहालका अनुसार चिट चोर्न रोक्दा जेठाराले शिक्षक पुडासैनीलाई कुटपिट गरेका हुन् । उनले ट्विटरमा लेखेका छन्, ‘चिट चोर्न रोक्दा आरआर कलेजमा शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको छ । उहाँको टाउकोमा सात टाँका लगाउन परेको छ। यसभन्दा लज्जाको विषय के होला ? कस्तो शिक्षा दिइरहेका छौं हामीले ।’
चिट चोर्न रोक्दा आरआर कलेजमा शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको छ। उहाँको टाउकोमा सात टाँका लगाउन परेको छ। यसभन्दा लज्जाको विषय के होला? कस्तो शिक्षा दिइरहेका छौं हामीले।
— Rishikesh (@rishikeshdahal) December 21, 2021
त्यस्तै आरआरमै रहेका त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभागका प्राध्यापनरत डा कुन्दन अर्यालले त्रिभुवन विश्वविद्यालय शान्ति क्षेत्र बन्नै सक्दैन ? भन्दै प्रश्न गरेका छन् । उनले विद्यार्थी संगठनहरुको भूमिकाबारे पनि प्रश्न गरेका छन् ।
अर्याल लेख्छन्, ‘आज बिहान सबेरै कक्षा सकेर निस्कँदा सुन्नु पर्यो, आरआरमा एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटे। पत्रकार तथा गुरु जगत नेपालले भन्नु भयो, मेरो आँखै अगाडि त्यो विभत्स घटना भयो। त्रिभुवन विश्वविद्यालय शान्ति क्षेत्र बन्नै सक्दैन त ? विद्यार्थी संगठनहरुको भूमिका के हुन सक्छ ?’
आज विहान सबेरै कक्षा सकेर निस्कदा सुन्नु पर्यो, आरआरमा एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटे। पत्रकार तथा गुरु जगत नेपालले भन्नु भयो, मेरो आँखै अगाडि त्यो विभत्स घटना भयो।
त्रिभुवन विश्वविद्यालय शान्ति क्षेत्र बन्नै सक्दैन त!??? विद्यार्थी संगठनहरुको भूमिका के हुन सक्छ!???— Kundan Aryal (@TheRealKalamchi) December 21, 2021
शिक्षकमाथि यसरी आक्रमण गरेको विरोधमा क्याम्पसका प्राध्यापक संघ, प्रजातन्त्रवादी प्रध्यापक संघ र नेपाल प्रगतिशील प्राध्यापक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नहुँदासम्म अध्यापन नगर्ने निर्णय गरेका छन् । शैक्षिक स्थलमा प्राध्यापकहरु असुरक्षित हुने अवस्था रहेसम्म र आक्रमणकारीलाई गल्ती अनुसारको कारबाही नभएसम्म अध्यापन नगर्ने निर्णय गरेका हुन् ।















