Logo
Logo

महेन्द्र र ओलीले जस्तै रवीन्द्रले ‘कू’ गरे : मिलन पाण्डे


5.2k
Shares

काठमाडौं । विवेकशील साझा पार्टीबाट निष्कासनमा परेका संयोजक मिलन पाण्डेले आफूमाथि अवैधानिक रुपमा कारबाही गरेको बताएका छन् ।

पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्यबाट निष्कासित गरेपछि पाण्डेले आफूमाथिको कारबाही तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गते गरेको ‘कू’ र केपी शर्मा ओलीले ०७७ पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनजस्तै भएको बताएका हुन् ।

राजतन्त्र मान्न नसक्ने पाण्डेले पुनः दोर्‍याएका छन् । उनले तानाशाहीको पतन निश्चित भएको पनि बताएका बताएका छन् । उनले समाजिक सञ्जालमा लेखेका छन्-
त्यो पुस १
त्यो पुस ५
अनि, आज पुस ६…

यी दिन लूटतन्त्रका बिम्ब हुन् । तानाशाहीको पतन निश्चित छ भन्ने उदाहरण पनि । लोकतन्त्र र पार्टीले यस्ता पात्र र प्रवृत्ती सामना नगरी पार्टी बलियो हुँदैन । लोकतन्त्र बलियो हुँदैन । सरी ब्रो, राजतन्त्र मान्न सक्दिनँ ।

उनले विधान र पद्धतिविपरीत आफूलाई हटाइएकोले उक्त निर्णय अस्वीकार गर्ने पनि बताएका छन् ।

‘पार्टीभित्रको वैचारिक तथा राजनीतिक मतभिन्नतालाई वैचारिक तथा राजनीतिक विधिमार्फत नै हल गर्नुपर्नेमा सो विपरीत पार्टीबाट निष्कासन गरेको भनेर कुत्सित मनसाय साथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नु म दुराशयको पराकाष्ठा ठान्दछु र यो निर्णयलाई पूर्णतः अस्वीकार गर्दछु,’ उनको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीमा उर्जाशील समय खर्चिएको र अग्रगामी पार्टी बनाउन प्रतिबद्ध रहेको भन्दै उनले आफूमाथि कसैले कारबाही गर्न नसक्ने दाबी पनि गरेका छन् । ‘तत्कालीन विवेकशील नेपाली दलको महाधिवेशनबाट निर्वाचित अध्यक्ष भइरहँदा, पार्टी एकता गर्दा र अन्य राजनीति अभियानमा संलग्न हुँदा विवेकशील साझा पार्टी गठन र सुदृढीकरणका लागि मैले निरन्तर सक्दो योगदान गरेको छु । र, अझै उन्नत, लोकतान्त्रिक र अग्रगामी पार्टी र राजनीतिका लागि मेरो सम्पूर्ण समय, विवेक र ऊर्जा लगाउन प्रतिबद्ध छु,’ उनले भनेका छन्, ‘मेरो आस्थालाई कसैले खोस्न र कारबाही गर्न सक्दैन ।’

पार्टी विधान र केन्द्रीय समिति निर्णयहरु विपरीत गतिविधि गरेर पार्टीलाई गम्भीर क्षति पुर्‍याउने काम लगातार गरेको आरोप लगाएँदै अध्यक्ष रवीन्द्र मिश्र पक्षले मंगलबार पाण्डेलाई पार्टीबाट हटाएको हो । पाण्डेले मंगलबार बिहान विवेकशील साझा पार्टी सुदृढीकरण अभियानको केन्द्रीय समिति घोषणा गरिएको पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्