Logo
Logo

आज पनि बस्दै प्रतिनिधिसभा बैठक



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

कार्यव्यवस्था परामर्श समितिले प्रतिनिधिसभा बैठकका कार्यसूची तय गर्दछ । बुधबार बिहान साढे ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधिसभा बैठकले केही अध्यादेशहरु स्वीकृत गर्ने र समितिका सदस्यहरुको नामावली हेरफेर गर्नेबारे छलफल हुने संसद सचिवालय जनाएको छ ।

नवौँ अधिवेशनमा सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक नै नराखेको भनेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आलोचना गर्दै आएको थियो । अहिलेको दशौँ अधिवेशनमा भने सभामुखले नियमित रुपमा कार्यव्यवस्थाको बैठक राख्दै आएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ । आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको विरोधमा संसद बैठक विरोध जारी राखेको एमालेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा भने सहभागिता जनाउँदै आएको छ । तर, एमाले नेताहरु आफ्ना कुरा सुरुमै राख्ने र बाहिरिने गरेका छन् । यसबाट सभामुख अग्नि सापकोटाले असन्तुष्टि जनाएका छन् ।

मंगलबारको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोखरेल र लालबहादुर थापा सहभागी थिए । उनीहरु सुरुमै आफ्ना कुरा राखेर बाहिरिएका थिए । बैठकबाट बाहिरिंदै गर्दा सभामुख सापकोटाले अरुका कुरा पनि सुन्ने धैर्यता गरिदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्