Logo
Logo

मेट्रोका एआइजी र अपराध महाशाखाका एसएसपी हेरफेरको तयारी




काठमाडौं । गृह मन्त्रालयले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी तथा महानगरीय अपराध महाशाखाका एसएसपी हेरफेरको तयारी थालेको छ । एक वर्षको अवधि पुगेकाले हेरफेर गर्न लागिएको हो ।


महानगरीय प्रहरी कार्यालयका एआइजी हरि पालको अवधि करिब १३ महिना भइसकेको छ । गत वर्ष मंसिरमा उनको मेट्रोमा सरुवा भएको थियो।


केपी ओली सरकारले गत असारमा उनलाई प्रहरी प्रधान कार्यालय सरुवा गरेपनि लगत्तै शेरबहादुर देउवा सरकार आएपछि उनको सरुवा रद्द भएको थियो । कलेजदेखिका साथी बालकृष्ण खाण गृहमन्त्री भएकाले उनको सरुवा रोकिदिएका थिए । तर, पछिल्लो समय गृहमन्त्री खाण र एआइजी पालबीचको व्यक्तिगत सम्बन्ध बिग्रिएको छ ।


तीन जना भारतीयलाई पक्राउ गरी गोप्य रुपमा भारतलाई बुझाएको पाइएपछि एआइजी पाल झन् समस्यामा छन् । सो प्रकरणमा गृह मन्त्रालयले उनलाई कारबाहीको प्रयास गरेपनि बालुवाटारको दबाबमा कारबाही रोकिएको छ । बालुवाटारकै शक्तिमा बैशाखसम्म मेट्रोमै रहने पालको चाहना भएपछि गृहमन्त्री उनलाई हटाउने पक्षमा छन् ।


मेट्रोमा सरुवा हुन चाहने एआइजीको लबिङ नहुँदा पनि छिटो हेरफेर नभएको हो । अन्य चार एआइजीमध्ये विश्वराज पोखरेलले मेट्रोको कमाण्ड गरिसकेका छन् । अर्का एआइजी सहकुलबहादुर थापा आगामी बैशाखमा आइजिपीको लागि लबिङमा छन् । अर्काेतर्फ थापा एमाले निकट भनेर चिनिएकाले पनि उनको सम्भावना न्यून छ । एआइजीद्वय प्रद्युम्न कार्की र निरजबहादुर शाही सरुवाका लागि नेताका नधाउने प्रहरी अधिकृत भएकाले एक वर्ष अवधि पुगेपनि पालको मेट्रोबाट सरुवा नभएको हो ।


त्यस्तै, अपराध महाशाखाका एसएसपी चन्द्रकुबेर खापुङको पनि करिब ११ महिना पुगेको छ । गत वर्ष फागुनमा उनको महाशाखामा सरुवा भएको थियो । ओली सरकारले नै उनलाई त्यहाँ सरुवा गरेको भएपनि उनलाई हालसम्म हटाइएको छैन । उनको हुन्डी कारोबारी तथा केही गुन्डा नाइकेसँग साँठगाँठ देखिएको सूचना गृह मन्त्रालयमा पुगेको छ । दरबारमार्ग वृत्तमा पनि हुँदा गुन्डा नाइकेलाई सघाएको खुलेपछि उनीमाथि कारबाही भएको थियो । अहिले पनि केही गुन्डा नाइकेसँग उनको दोस्ती छ ।

प्रतिक्रिया दिनुहोस्