Logo
Logo

तस्करीको ‘लाइन’: रसुवा जान एक दर्जन डिएसपीको दौडधुप




काठमाडौं । एसपीको सरुवापछि प्रहरी प्रधान कार्यालयले डिएसपीको सरुवा तयारी थालेको छ । एसपीमा भन्दा डिएसपी सरुवामा ठूलो चलखेल भइरहेको स्रोत बताउँछ ।


सबैभन्दा धेरै सोर्सफोर्स रसुवाका लागि भइरहेको छ । जहाँ जानका लागि एक दर्जन डिएसपीहरु शक्तिकेन्द्र धाइरहेका छन् । रसुवाका डिएसपी देवेन्द्र पाण्डेको एक वर्षको कार्यकाल पुगकोले रसुवा इन्चार्ज फेरिन लागेका हुन् । रसुवामा नाका भएकाले तस्करीको लाइन मिलाउन ठूलो चलखेल भएको हो ।त्यही कारण केही डिएसपीहरु पैसा बुझाएर जान पनि तयार देखिएका छन्। केही तस्करहरु आफु अुनुकलका डिएसपी लैजान लबिङ गरिरहेका छन् ।


रसुवासहित दोलखा, म्यादी, रामेछाप, ओखलढुंगा, रुकुम पूर्व, रुकुम पश्चिम लगायत जिल्लामा सरुवाका लागि डिएसपीहरुको दौडधुप छ । त्यस्तै, विभिन्न इप्रकाहरुमा पनि सरुवा हुन लागेको छ ।


आइतबार प्रहरी प्रधान कार्यालयले एसपीको सरुवा गरेको थियो । जसमा बदनामहरुले इन्चार्ज पाएका छन् । कार्यक्षमतामा कमजोर विश्वराज पोखरेललाई झापा पठाइएको छ । काभ्रेमा पठाइएका चक्रराज जोशी, बारामा दिलिपसिंह देउजा, पूर्वी नवलपरासीमा पठाइएका प्रज्वल महर्जन कमजोर कार्यक्षमता भएका अधिकृत हुन् । त्यस्तै कञ्चनपुरमा श्यामसिंह चौधरीलाई पठाइएको छ । एसपी सरुवामा बदनामहरुकै हालीमुहाली भएकाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको भूमिका फेरि पनि कमजोर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्