Logo
Logo

एसपीदेखि एआइजीसम्म कारबाहीको सूचीमा




संगठनको चेन अफ कमाण्डमा प्रहरी महानिरीक्षक शैलैश थापा क्षेत्री त कमजोर भएकै छन्, गृहमन्त्री बालकृष्ण खाण आफैंसमेत हस्तक्षेपबाट वाक्क भइसकेका छन् । बालुवाटारबाट हुने चलखेल र हस्तक्षेपले गृहमन्त्री नै हैरान हुन थालेका छन् ।


गृहमन्त्रीले अघि बढाएका कतिपय प्रस्ताव पनि बालुवाटारबाट रोकिएका छन् । गृहमन्त्रीले एआइजी हरिबहादुर पाललाई कारबाही गर्न प्रस्ताव अघि बढाएका थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा रोकिएको छ । तीन भारतीय नागरिकलाई एआइजी पालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी भारतलाई बुझाएको घटनामा निलम्बनकै तयारी भएकोमा हालसम्म प्रतिवेदनसमेत लुकाएर कारबाही गरिएको छैन । माथिल्लो निकायलाई कुनै जानकारी नदिई तीन भारतीयलाई सुनौली नाका लगेर भारतीय सुरक्षाकर्मीलाई बुझाइएको थियो । यस्तो गम्भीर घटनालाई डिसमिस गराउने प्रयास भइरहेको छ ।


एआइजीको कारबाही रोकिए पनि सरुवा भने हुने भएको छ । महानगरीय प्रहरी कार्यालयमा उनको १३ महिना पुगिसकेको छ । महानगरीय प्रहरी कार्यालयमा सरुवाका लागि प्रद्युम्न कार्की, निरज शाही तथा सहकुल थापाबीच प्रतिस्पर्धा छ । सरकारले एआइजीको दरबन्दी थप्ने तयारी गरेकाले तत्कालै थप्ने अवस्था आएमा नयाँ बढुवा हुने एआइजी पनि मेट्रोमा जाने सम्भावना छ ।


त्यस्तै, यसअघि काठमाडौं परिसरका एसएसपी अशोक सिंहको सरुवा पनि बालुवाटारले नै रोकाएको थियो । निर्णय भएको दुई महिनापछि त्यसको कार्यान्वायन भएको छ । तर, रमाइलो के भने अहिले ती एसएसपीमाथि समेत कारबाही गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । डिआइजी राजेशलाल कर्णको नेतृत्वमा छानबिन समिति बने पनि दबाबकै आधारमा छानबिन समेत रोकिएको छ । स्रोतका अनुसार एसएसपी सिंह छानबिन रोकेर त्यसअघि नै बढुवा हुने खेलमा लागेका छन् । यसमा पनि गृहमन्त्री खाणलाई प्रहरी प्रधान कार्यालयले चुनौती दिएको ।


जुवाडेको चेक बरामद गरी मुद्दा नचलाई फिर्ता गरिएको घटनामा उनीमाथि छानबिन गरी कारबाही गर्न गृहले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । सिन्धुलीका राजकुमार बरालले मदिराको नशामा दुई करोड २३ लाख रुपैयाँको चेक साथी सुभास भेटवाललाई दिएका थिए । भेटवालले बिचौलियामार्फत एसएसपी सिंहलाई प्रभावमा पारी पैसा उठाइदिन भनेका थिए । अहिले पनि त्यो चलखेल जारी छ ।


घटनाको मुचुल्कासमेत भएको सो प्रकरणमा प्रहरीले मुद्दा नचलाई बराललाई धम्काएर पैसा दिन भनेको थियो । जसकारण एसएसपी सिंह र तत्कालिन डिएसपी नरेन्द्र चन्दमाथि छानबिन सुरु भएको छ ।

सिनियरलाई उछिनेर डिआइजी हुने दाउमा लागेका सिंहलाई यो प्रकरणले धक्का लाग्ने निश्चित छ । यसअघि गृहमन्त्रीको सरुवा पावर लगाएर रोकाएकाले पनि अहिले गृह नेतृत्व उनीसँग रुष्ट भएर कारबाही गर्न लागेको हो ।


उता, तीन एसपीमाथिको छानबिन पनि अलपत्र परेको छ । धनुषाका तत्कालिन एसपी प्रकाश रानाभाट, सर्लाहीका सन्तोषसिंह राठौर तथा रौतहटका सिद्धिबिक्रम शाहमाथिको छानबिन अलपत्र परेको छ । रानाभाटले मुद्दामा चलखेल गरेको तथा राठौरले जुवा खेलेको र अनुसन्धानमा चलखेल गरेको खुलेको थियो । त्यस्तै शाहमाथि पत्रकारलाई लागू औषध मुद्दामा फसाउन खोजेको आरोपमा छानबिन थालिए पनि अझै टुंगिएको छैन । सोही प्रकरणमा रौतहटबाट तानिएका शाहलाई हालै ललितपुर परिसरमा सरुवा गरिएको छ । सिराहका एसपी हिरा पाण्डेलाई भने कांग्रेस नेताको दबाबमा तत्कालै निलम्बन गरिएको छ ।

उता आर्थिक चलखेलमा लागेका अपराध महाशाखाका एसएसपी चन्द्रकुबेर खापुङलाई गृह मन्त्रालयले एक वर्ष अवधि नपुगी हटाएको छ ।

प्रतिक्रिया दिनुहोस्