Logo
Logo

अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने




काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले बुधबार देखी ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु –पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ ।


महाशाखाले शुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा ट्राफिक जरिवाना तिर्ने गरेको थियो । पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रबिधीमैत्री बनाउदै बिभिन्न ६४ वटा बैंकको मोबाइल बैंकिङ्, डिजीटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक सँस्थाहरु र क्युआर कोडबाट समेत जरिवाना तिर्नसकिने प्रणाली संचालनमा छन् ।
बुधबार एक कार्यक्रमका बिच ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रबिधी “प्रभु–पेको किअस्क मेसिन” उद्घाटन गरेका छन् ।


कार्यक्रममा बोल्दै एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रबिधीमैत्री बनाउदै आम सेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस भन्ने उद्देश्यले यो मेसिनको जडान गरेको बताए । उनले किअस्क मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने र यसले बैंकमा गएर लामो समय लाईनमा बस्ने झन्झटबाट मुक्त हुने र समयको समेत वचत हुने बताए ।


आम सेवाग्राहिको सहजताको लागी किअस्क मेसिन जडानको लागी प्रभु–पेलाई धन्यबाद दिँदै थप ट्राफिक कार्यालयहरुमा सेवा बिस्तार गर्न समेत सहयोग हुने अपेक्षा एसएसपी जोशीको छ ।


ट्राफिक महाशाखाले जरिवाना भुक्तानी गर्ने प्रबिधीहरुलाई क्रमश परिस्कृत गर्दै आजैदेखी मेसिनमा नगद प्रयोग गरि जरिवाना तिर्न सकिने सेवा शुरु गरेको हो ।


प्रभु–पेकी अध्यक्ष कुसुम लामाले ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गरि किअस्क मेसिन जडान गरि सेवा बिस्तार गर्न पाउदा खुशी व्यक्त गरिन् । यो मेसिनले बैंकिङ् कारोबार बन्द भएको समयमा समेत सेवा दिने हुनाले ट्राफिक जरिवाना तिर्ने सेवाग्राही बढि लाभान्वीत हुने उनको भनाई छ ।
हाल ट्राफिक महाशाखा सहित उपत्यकामा ३०९ स्थानमा प्रभु–पेको किअस्क मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने र थप सहकार्य गरि अन्य ट्राफिक प्रहरी कार्यालयहरुमा समेत जडान गर्दै जाने अध्यक्ष लामाको भनाई छ ।


कसरी तिर्ने मेसिनबाट जरिवाना?
सर्बप्रथम प्रभु–पेको किअस्क मेसिनमा रहेको ट्राफिक प्रहरीको लोगोमा क्लिक गरि स्क्रिनमा देखिने चिट नम्बर र आर्थिक बर्ष टाइप गरि नेक्सट बटन थिच्नुपर्छ । त्यसपछि देखिने चिट नम्बर लगायतको सुचना चेक गरि नेक्सट बटनमा थोचेर तिर्नुपर्ने रकम मेसिनमा हालेर भुक्तानी गर्ने र भुक्तानी सफल भए पश्चात प्रिन्ट भएको रसिद सहित ट्राफिक कार्यालयमा गई आफ्नो कागजपत्र लिन सकिन्छ महाशाखाले जनाएको छ ।


कोरोना संक्रमणको समयमा ट्राफिक कार्यालय र बैंकमा हुने अनावश्यक भिडभाडमा कमी आउनेर कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न समेत यो मेसिनले महत्वपुर्ण भूमिका खेल्ने ट्राफिक प्रहरी महाशाखाका प्रबक्ता एव एसपी संजीब शर्मा दासले बताए । ट्राफिक जरिवाना तिर्न बिभिन्न प्रबिधिको बिस्तार गर्ने क्रममा मोबाईल बैंकिङ् वा अन्य अनलाईन प्रबिधीको प्रयोग नगर्ने सेवाग्राहीलाई नगदै पैसा तिर्ने यो मेसिन अत्यन्त सहयोगीसिद्ध हुने उनको भनाई छ ।


ट्राफिक कार्यालयमा सेवा लिन आउने सम्पुर्ण सेवाग्राहीलाई सहज एवं सरल रुपमा सेवा दिन सधैं तत्पर रहेको र अबका दिनमा समेत थप प्रविधिमा जोड दिने महाशाखाले जनाएको छ । बिभिन्न प्रबिधीको प्रयोग गरि ट्राफिक जरिवाना भुक्तानी गर्न आम सेवाग्राहीलाई ट्राफिक प्रहरी महाशाखाले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्