काठमाडौं । आज बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहभागी नहुने भएको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा सहभागी नहुने जानकारी दिएका हुन् । कार्यव्यवस्था परामर्श समितिको बैठक अहिले साढे ११ बस्ने बोलाइएको छ ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएपनि एमालेले आफ्ना अडान यथावत रहेको जनाएको हो ।
प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीले एमसीसीका सवालमा सत्तारुढ गठबन्धनको साझा धारणा प्रस्ट पार्न सुझाव दिएका थिए । तर, सत्तारुढ गठबन्धनको साझा धारणा आएपछिमात्र एमालेले एमसीसीबारे धारणा ल्याउने ओलीको भनाइ थियो ।
आज १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकको कार्यसूचीबारे छलफल गर्न बस्न लागेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत एमाले अनुपस्थित हुने भएपछि सरकारलाई एमसीसीको प्रक्रिया अघि बढाउन थप चुनौती बढेको छ ।











